ललितपुर- 11 संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब ३ हजार नयाँ बिरामी देखा परिरहेका छन्।
यस वर्षमात्रै ३ हजार २ सय १५ नयाँ रोगी पत्ता लागेका छन्। संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ। सन् २०१० मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको यस क्षेत्रमा कार्यरत सरोकारवाला बताउँछन्।
महिला र बालबालिकामा यो रोग बढिरहेको आनन्द वन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए। यस वर्ष मात्रै १४ वर्षमुनिका २ सय २० नयाँ बिरामी फेला परेका छन्। उनले भने,'रोग लागेर पनि औषधि नखाने व्यक्तिको श्वासबाट यो रोग अर्कोलाई सर्छ। बिरामीले चाँडो औषधि सुरु गर्दा रोग नफैलने र अरुलाई नसर्ने हुन्छ।'
तराईका जिल्लामा रोगीको संख्या बढि
प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो। ७ वर्ष पहिले प्रति १० हजार जनामध्ये ०.७९ प्रतिशतमा कुष्ठरोग फेला परेको स्वास्थ्य विभागअन्तर्गत कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटाले बताए। यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ प्रतिशत छ। प्रति १० हजारमा एक प्रतिशत रोगीको संख्या ननाघेकाले अझै गर्न सकिने भए पनि ढुक्क हुने अवस्था छैन।
उनी भन्छन्,'संख्या माथि उक्लिरहेकाले ढुक्क हुने अवस्था छैन।' तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ। सबैभन्दा बढी बिरामीको चाप प्रदेश नं. २ मा छ। यस प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा प्रति दश हजारमा १९.७७ प्रतिशत बिरामी थिए।
द लेप्रासी मिसन नेपालका निर्देशक शोभाकर कँडेल कुष्ठरोग स्वास्थ्य मात्रै नभएर सामाजिक र आर्थिक समस्या भएको बताउँछन्। उनी भन्छन्,'यो समस्या समाधानका लागि सबै पक्ष मिलेर लाग्न खाँचो छ।' नेपालमा कुष्ठरोगको समस्या कम नहुनु नेपालका लागि मात्रै नभएर विश्वका लागि समेत समस्या बनेको छ।
डब्लुएचओ भन्छ : तिरस्कारयुक्त कानून हटाउन जरुरी
11 संगठनले रोग लाग्ने, सर्ने र अंगभंग हुने व्यक्तिको संख्या ‘शून्य’ सहित कुष्ठरोगरहित विश्वको कल्पना गरेको संयोजक पोखरेल बताउँछन्। संगठनले कुष्ठरोग लागेका कारण तिरस्कार गरिने कानून हटाउन आग्रह गरेको छ। नेपालको मुलुकी ऐनको विवाहसम्बन्धी महलमा कुष्ठरोग लागेकामा विवाह गर्न÷गराउन नहुने उल्लेख छ। यस्ता ऐन तथा नियमलेले कुष्ठरोग प्रभावितलाई अन्याय भएको संयोजक पोखरेलले दावि गरे।
कसरी लाग्छ कुष्ठरोग?
माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ। कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ। विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्ने गरेको देखाएको छ। बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ। कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ। कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन। उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउने चिकित्सकहरु बताउँछन्।
प्रति लाख ११.२३ प्रतिशत बिरामी थप
कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आर्थिक वर्षमा प्रति लाखमा ११.२३ प्रतिशत बिरामी थप भएका छन् । लेप्रोसी मिसन अस्पतालमा सन् २०१७ मा सात हजार ८ सय ५ बिरामीले उपचार गराएका थिए। अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको संख्या एक हजार ५ सय ४० थियो। अन्य संस्थाले ८३ बिरामीलाई विशेष उपचारका लागि आनन्द वन अस्पतालमा सिफारिस गरी पठाएका थिए। अस्पतालले कुष्ठरोग प्रभावित व्यक्तिको पुनःस्थापना र सन्तानको शिक्षामा समेत सहयोग पुरयाउँदै आएको छ। रासस