हामी नर्सलाई बाहिरबाट देखेजस्तो र सोचेजस्तो काम गर्न सजिलो छैन । तर, अधिकांशले यो कुरा बुझेका हुँदैनन् । केही नर्सहरुको स्वभाव या समस्याका कारण धेरैले ‘नर्सहरु रिसाहा, झर्केर कुरा गर्ने, राम्रो व्यवहार नगर्ने हुन्छन्’ भनेर अनुमान लगाउँछन् । तर, नर्सले कसरी काम गरिरहेका छन् भन्ने कसैले सोच्दैनन् ।
बिरामी, उनका आफन्त सँगसँगै अस्पताल प्रशासन र राज्यले समेत नर्सको भावना र समस्या बुझिदिनुपर्छ । हामी नर्सलाई अफिसको मात्र काम गरेर हुँदैन । ड्युटी सकेर फेरि घरमा गएर पनि काम गर्नुपर्छ । आराम गर्ने पर्याप्त समय हुँदैन । पुरुषलाई जस्तो अफिस सकेपछि घरमा केही गर्नु नपर्ने छुटकारा हामीलाई हुँदैन ।
म नै अहिले डाइरेक्टर पदमा काम गर्छु, तर पनि अफिस आउनुअघि मैले घरको सबै काम सकेर आउनुपर्छ ।
अनि अस्पतालमा आएर धेरै बिरामीको माझमा काम गनुपर्छ । हाम्रो देशमा नर्स र बिरामीबीचको अनुपात अहिलेसम्म मिलाउन सकिएको छैन ।
कामकाजी महिला सबैलाई समस्या छ तर नर्सलाई ड्युटीमा पनि उत्तिकै शारीरिक र मानसिक समस्या भइरहने हुनाले उच्च तनावमा काम गरिरहेका हुन्छौं ।
अस्पतालको जनरल वार्डमा एउटा नर्सले बढीमा ६ जनासम्म बिरामी हेर्नुपर्ने हो तर हामीकहाँ २० जनासम्म बिरामी हेर्नुपर्ने वाध्यता छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अन्य अस्पतालमा भन्दा नर्स र बिरामीको अनुपात केही सहज अवस्थामा छ । यद्यपि 11 संगठनले तोकेको नर्स र बिरामीको अनुपात अनुसार भने छैन ।
कति नर्स स्तनपान गराइरहेका आमाहरु हुन्छन्। तर म 4 प्रमुखका साथै महिला भए पनि उनीहरुलाई छुट्टी दिन सक्दिनँ । किनकि उनीहरुलाई बिदा दिने बित्तिकै अस्पतालमा समस्या पर्छ । पर्याप्त नर्स नहुदाँ कतिपय स्तनपान गराइरहेका नर्सले बिदा लिएर नियमित र प्रसस्त रुपमा आफ्ना बच्चालाई दूध चुसाउन पाउँदैन । यो अवस्था सम्झँदा पनि पिडादायी छ ।
फेरि हाम्रा अस्पतालहरुमा ‘चाइल्ड केयर’ नहुनु अर्को समस्या हो । प्रशासनिक र निर्णय गर्ने स्थानमा सबै पुरुष मात्र भएकाले महिलाका आवश्यकता बुझ्न सक्दैनन् । हाम्रा समस्या यथावत् रहन्छन् । चाइल्ड केयर, स्तनपानका लागि समय दिनेजस्ता विषय प्रशासनका लागि प्राथमिकताका विषय बन्दैनन् ।
एकातिर निजी अस्पतालहरुमा नर्सले निकै कम तलबमा काम गर्नुपर्ने वाध्यता छ । अर्कोतिर महिनावारी वा सुत्केरी हुँदाको समयमा पनि आराम गर्न पाइँदैन ।
हरेक अस्पतालमा ‘चाइल्ड केयर सेन्टर’ को आवश्यकता छ । हामी नर्सलाई थाहा छ बच्चालाई स्तनपान आवश्यक छ भनेर, तर कामको बोझले हामी नै आफ्ना बच्चालाई पर्याप्त स्तनपान गराउन सकिरहेका छैनौं । हरेक अस्पतालमा चाइल्ड केयर भयो भने बच्चालाई समय–समयमा स्तनपान गराउने वातावरण हुनेथियो । त्यसतर्फ अस्पताल प्रशासनले ध्यान दिदैन ।
महिलाका हरेक विषय संवेदनशील भए पनि उनीहरुका विषयमा किन ध्यान जान नसकेको होला ? महिनावारी हुदाँ अन्य महिलालाई जस्तै नर्सलाई पनि आरामको आवश्यकता हुन्छ । तर, पर्याप्त नर्सको व्यवस्थापन गर्न नसक्दा उनीहरुलाई बिदा दिएर आराम गर्न भन्न सक्दैनौं । उनीहरु शारीरिक पिडासँगै कामको तनावले बेहोस समेत हुन्छन् । यसबारे कसैको ध्यान पुग्दैन, अनि मानिसहरु ‘नर्सले यसो गरेनन्, उसो गरेनन्’ भनेर कति सजिलै भनिदिन्छन् ।
नर्सले तीनवटा जिम्मेवारी साथसाथै निर्वाह गर्नुपर्छ । अफिस, घर र समाजप्रतिको जिम्मेवारीले हामीलाई किचेको हुन्छ । त्यसमाथि कम पारिश्रमिकका कारण कति नर्स त तीन ठाउँमा समेत काम गरिहरेका हुन्छन् ।
अहिले नेपालमा ७० हजारभन्दा बढी नर्स छन् । तर, तिनको व्यवस्थापन हुन सकेको छैन । अस्पतालमै नर्स र बिरामीको अनुपात ख्याल नगरिँदा 4 जनशक्ति बेरोजगार बस्नुपरेको छ, या त विदेश पलायन हुनुपरेको छ । सरकारले नर्सको उचित व्यवस्थापन गर्नुपर्छ । धेरै वर्षअघिको दरबन्दीलाई पुनरावलोक गरी नयाँ दरबन्दी थप्ने, बढुवा गर्ने, निश्चित समयमा बढुवा गर्ने मापदण्ड बनाउनुपर्छ । यस्तै हार्जाड भत्ता, नाइट भत्ता पनि बढाउनुपर्छ ।
नर्सलाई पेशागत सम्मानका साथै अस्पतालको प्रशासनिक निर्णयमा पनि सामेल गराउनुपर्छ । प्रशासनिक जिम्मेवारीको अवसर नर्सलाई पनि दिनुपर्छ ।
पेशामा सन्तुष्ट हुन नसकेपछि पछिल्लो ३ वर्षमा शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २ सय नर्स विदेश पलायन भएका छन् ।
अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको छ ।
२०७१ पुसदेखि चैतसम्म २२ जना, २०७२ मा ५७, २०७३ मा ६९ र २०७४ पुससम्म ४५ जना नर्स विदेशतिर उडिसकेका छन् । झन्डै ५० जनाभन्दा बढी नर्स देश छाड्ने प्रक्रियामा छन् । यसरी राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेकाहरु पनि छन् ।
हरेक महिना स्थायी र करारमा राखिएका नर्सको राजीनामा आउने क्रमले अस्पतालमा नर्स व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।
नर्सलाई पलायन हुनबाट रोक्न र निराशाको भुमरीमा पर्नबाट जोगाउने हो भने, सरकारले नर्सलाई प्रशासनिक जिम्मेवारी, उचित पारिश्रमिक, पेशागत सम्मान र सुरक्षा दिन सक्नुपर्छ ।
(श्रेष्ठ शिक्षण अस्पताल महाराजगञ्जकी 4 डाइरेक्टर हुन्)