काठमाडौं – भर्खरका युवामा जीवनमा केही गर्ने सपना र जोश नै छुट्टै हुन्छ । राम्रोसँग पढेर कुनै पेशा–व्यवसायमा आबद्ध भई परिवारको भरथेग गर्ने र समाजको लागि पनि योगदान गर्ने उत्साह उनीहरुमा भरपूर हुन्छ।
तर, बझाङका युवा धनबहादुर बोहराको कथा यसभन्दा फरक हुन गयो । उनले किशोर उमेरमा पनि कुनै रहर सजाउन पाएनन् । १७ वर्षकै उमेरमा दुवै मिर्गौला फेल भएपछि उनी नराम्रोसँग थलिए । उनले मिर्गौला प्रत्यारोपण गर्ने अवसर त पाए, तर त्यो पनि फेल भयो । नाम धनबहादुर भए पनि विपन्न परिवारका उनले खर्चको अभावमा अत्यावश्यक औषधि समेत खान पाएनन्।
पछिल्लो समय उनी वीर अस्पतालको दोस्रो तलामा रहेको हेमो–डायलाइसिस युनिटमा नियमित डायलाइसिस गराइरहेका छन् । डायलाइसिस युनिटबाटै धनबहादुरले आफ्नो व्यथा स्वास्थ्यखबरलाई यसरी सुनाएः
मिर्गौला रोगले मेरो जीवनमा ठूलो हलचल ल्याएको छ । किशोर उमेरमै मेरा दुवै मिर्गौला फेल भए । १७ वर्षको थिएँ, मिर्गौला बिग्रिएछ।
लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेरमा स्वास्थ्यले धोका दिएपछि मैले जीवनमा अँध्यारो मात्र देखेँ । बाँच्ने आश नै रहेन । किनकि परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । बिहान–बेलुका दुई छाक टार्न मुश्किल भइरहेको अवस्थामा निकै खर्चिलोमध्येमा पर्ने रोग लागेपछि परिवारका सबैमा निराशा छायो।
मलाई शुरुमा मिर्गौलामा पत्थरी भएको थियो । तर, त्यसको समयमै उपचार गरिएन । रोगले च्यापेर गाह्रो पारेपछि थाहा भयो, मेरा दुवै मिर्गौला फेल भइसकेका रहेछन्।
मेरो बुबा सामान्य किसान हो । आर्थिक अभावका बीच ऋणपान गरेर भए पनि उपचार गरिने भयो । मेरो जीवन बचाउन डायलाइसिस गर्नुपर्ने भयो । हप्तामा तीन पटक गर्नुपर्छ भनिएको थियो । तर, आर्थिक अवस्था कमजोर भएका कारण दुई पटक मात्र गर्थें । एक पटक डायलाइसिस गर्दा तीन हजार रुपैयाँ खर्च हुन्थ्यो।
डायलाइसिस गराउन म परिवारसहित काठमाडौं आएँ । वीर अस्पतालमा डायलाइसिस गराएको हुँ । डायलाइसिस बाहेक पनि काठमाडौंमा बस्न निकै खर्चिलो भयो । बस्न, खान, गाडीभाडासहित अरु खर्च पनि उत्तिकै छ।
०६९ सालमा मेरो आमाले मलाई मिर्गौला दिनुभयो । मिर्गौला प्रत्यारोपण सफल भयो । त्यसपछि महँगा औषधि खानुपर्यो । औषधि नियमित खानुपथ्र्यो । ३० लाख रुपैयाँ जति खर्च भइसकेको थियो । पैसा नभएका कारण बीचमा औषधि खान छोडियो । मेरो दुर्भाग्य ! प्रत्यारोपण गरेको मिर्गौला पनि फेरि फेल भएछ।
दुई वर्षदेखि फेरि डायलाइसिस गर्दै आएको छु । अहिले प्रत्यारोपण र डायलाइसिस सरकारले निःशुल्क गरेको छ । यसले कमजोर आर्थिक अवस्था भएको म जस्ताको लागि ठूलो राहत मिलेको छ । तर, काठमाडौँको बसाइ महँगो छ।