‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’। यही नारालाई मूल मर्म मानेर राष्ट्रिय खेलकुद परिषद्ले नेपाली खेलकुद विकासका कार्ययोजनाहरु अघि सारिरहेको छ। खेलकुदलाई मैदानमा प्रतिस्पर्धाको रुपमा मात्र नभएर नागरिकको स्वास्थ्य र राष्ट्र विकाससँग जोड्नु परिषद्को लक्ष्य हो।
परिषद्ले खेलकुदलाई स्वास्थ्य र विकाससँग जोड्ने अवधारणाअनुसार सफलता हात पार्नेमध्येमा पर्छिन् तेक्वान्दो खेलाडी रोमी गिरी। खेलकुदमा प्राप्त गरेको आत्मविश्वासले रोमीले व्यवस्थापन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन्। खेलाडी हुँदै तेक्वान्दोकी राष्ट्रिय रेफ्री बनेकी उनी पछिल्लो समय वाणिज्य मन्त्रालयकी जागिरे थिइन्।
पारिवारिक माहोलका कारण तेक्वान्दोमा प्रवेश गरेकी हुन्, रोमी। ‘स्कुल पढ्दा कुनै एउटा खेल खेल्नुपर्छ भन्ने थियो। अंकल सोवितमान गिरी तेक्वान्दोका खेलाडी भएकाले उहाँमार्फत् तेक्वान्दो सिक्न थालियो,’ उनले सम्झिन्।
तेक्वान्दो सिक्न थालेपछि नै उनमा आत्मविश्वास बढेको थियो। आफ्नो काममा केन्द्रीत हुने बानी बस्न थाल्यो। ‘आफूलाई लागेको कुरा विना हिचकिचाहट भन्ने बानी विकास भयो,’ उनी भन्छिन् ‘गेटअप पनि त्यस्तै गर्न मन लाग्थ्यो। पछिपछि त सबैले भाइ भनेर बोलाउन थाले। केटी साथीहरुले मेरो भरोसा खोज्न थाले।’
यसबीचमा उनले तेक्वान्दोका विभिन्न जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिन्। म्याटमा उत्रिएर विपक्षीमाथि प्रहार गर्दा कति खेल जितिन्, कति हारिन् त्यसको हिसाब गरेकी छैनन्। उनलाई प्रतिस्पर्धाले लगाव, आत्मविश्वास र मिहिनेत गर्न सके लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने सिकायो।
उनले खेलकुदको व्यवस्थापन र ज्ञान हासिल गर्नेतर्फ ध्यान दिन थालिन्। फलस्वरुप उनी विसं २०६७ सालमा राष्ट्रिय रेफ्री भइन्। शैक्षिक योग्यता हासिल गर्ने उद्देश्यका साथ केएफए कलेजमा एमबीएमा भर्ना भइन्।
खेलाडीमा सशक्तीकरण हुनुपर्छ भन्ने मान्यताले उनलाई अझ दृढ बनायो। आफ्नो कुरा स्पष्ट राख्ने बानीकै कारण उनले सन् २०१५ मा तेक्वान्दो खेलाडी भएकै कारण जापान भएको युथ लिडरसिप क्याम्पमा सहभागीता जनाउने मौका पाइन्। त्यसयता उनले आफूलाई अझै निखारेकी छन्।
अर्को वर्ष उनले अझ ठूलो अवसर पाइन्। सन् २०१६ मा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिसमा आफ्नो धारणा दिने मौका पाइन्। उनी नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो संघमार्फत् विश्वभरका ६ सय १ खेलाडी मध्येबाट छानिएकी एक्ली खेलाडी थिइन्।
‘विश्वभरबाट छानिएर संयुक्त राष्ट्र संघको मञ्चमा सहभागी हुनु गर्वको कुरा हो। यसले मेरो मात्र होइन देशको नै नाम उँचो पारेको महसुस भएको थियो, ’ उनी सम्झिन्छिन्।
त्यहीबीचमा उनी वाणिज्य मन्त्रालयमा जागिरेको रुपमा प्रवेश गरिन्। तेक्वान्दोको पृष्ठभूमिमा उनले युवा नेतृत्व र व्यवस्थापन पक्षमा सफलता हासिल गरिरहेकी छिन्।
‘खेलकुदको पृष्ठभूमिले काममा केन्द्रीत हुन तथा नतिजातर्फ सचेत हुन प्रेरित गर्दोरहेछ,’ उनी भन्छिन्, ‘अर्कोतर्फ फिटनेसमा सचेत होइन्छ। काम नभएको बेला जिम सेसनमा ध्यान गइहाल्छ।’ आफूलाई तन्दुरुस्त र फिट राख्नाले नै तेक्वान्दो र कामलाई सँगसँगै लान सकिएको उनको ठम्याइ छ।
खेलकुदप्रतिको लगावले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उनको अनुभव छ। ‘खेलको दौरान हुने सामान्य चोटपटक गौण हुन्। तर फिटनेस र व्यायामले शरीर तन्दुरुन्त बनाउँछ, बढी समय काममा केन्द्रित हुन सकिन्छ’ उनी भन्छिन्।
खेलकुदको पृष्ठभूमिबाट व्यवस्थापन क्षेत्रमा काम गर्दा फाइदा र बेफाइदा दुवै हुने उनको बुझाइ छ। ‘कतिपयले खेलकुद क्षेत्रबाट आएको भनेर सम्मानको भावनाले हेर्नुहुन्छ। कतिपयको बुझाइ अलि फरक छ। खेलकुद क्षेत्रबाट आएकाले काम गर्न सक्छ कि सक्दैन भनेर शंका गर्छन्,’ उनी भन्छिन्।
उनी भने खेलकुद क्षेत्रबाट आएकाले नै प्रतिफल बढी दिनसक्ने तर्क गर्छिन्। ‘हामीलाई नतिजा हासिल गर्नका लागि सही समय कुन हो भन्ने थाहा हुन्छ। अर्कोतर्फ त्यो नतिजा ल्याउन गर्नुपर्ने तयारी र आफ्नो कामप्रतिको लगावबारे राम्रोसँग जानकारी हुन्छ। त्यसले गर्दा सकारात्मक प्रतिफल आउँछ,’ उनी तर्क गर्छिन्।
तेक्वान्दो रेफ्री र प्रशासकीय काम सँगसँगै अघि बढाइरहेकी रोमीलाई भविष्यमा नेपाली खेलकुदमा व्यवस्थापकीय क्षेत्रमा योगदान दिने इच्छा छ। खेलाडीलाई दिनुपर्ने शिक्षा, संस्कार र उत्प्रेणाबारे पनि सोच्न जरुरी छ। यी समस्या समाधानका लागि भविष्यमा केही गर्न चाहन्छु,’ उनले योजना सुनाइन्।