काठमाडौं- सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति संगीता भण्डारीको नियुक्ती खारेज गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको हो।
सो निर्णयसँगै उपकुलपति डा भण्डारीसहित एकैपटक धेरै व्यक्तिले पद गुमाएका छन्। खुला प्रतिस्पर्धाबाट भएका कतिपय नियुक्तिहरु पनि खारेज भएका छन्।
डा भण्डारी गत मंसिर २८ गते नियुक्त भएकी थिइन्। नाक, कान, घाँटी रोग विशेषज्ञ डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन्।