काठमाडौँको डिल्लीबजारमा जन्मेहुर्केका डा विपेन्द्र राईका मामाहरु फुटबल खेल्ने भएकाले सानैबाट यतातिर आकर्षित भएका हुन्। बुढानिलकण्ठ स्कुलबाट एसएलसीसम्म गरेका उनी राम्रो फुटबल खेल्ने भएकैले स्कुलको फुटबल टिममा उनी पर्थे।
स्कुलबाट उनले धेरै इन्टर स्कुल प्रतियोगितामा सहभागिता जनाए । बिदाको समयमा पनि साथीभाईहरु जम्मा पारेर फुटबल खेल्थे उनी।
उनका मामाहरु राजु शाक्य, वाइबी घले राष्ट्रिय खेलाडि थिए । जसले गर्दा उनमा फुटबलप्रतिको रुची र संगत बढ्दै गयो।
काठमाडौं युनिभर्सिटीमा आइएसी पढन् थालेपछिका घटना उनलाई याद छन् । त्यो समय उनी क्लास छाडेर फुटबल खेल्न जान्थे । उनी भन्छन्, ‘सरले थाहा पाएर खुब गाली गरेको अझै सम्झिन्छु।’
एमबिबिएस चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा एमबिबिएस पढ्दा पनि उनीबाट फुटबल टाढिएन । अन्तर अस्पताल प्रतियोगितामा समेत भाग लिने मौका जु¥यो । उक्त प्रतियोगितामा उनको टिमले उपाधि जितेको थियो।
‘एमएस पढ्दा पनि फुर्सदको समयमा चौरमा साथीहरुसँग फुटबल खेल्ने गर्थें,’ उनले सम्झिए।
अहिले व्यस्तताले उनलाई फुटबलसँगको दूरी बढाएको छ । तर, फुर्सद मिलाएर उनी कार्यरत शिक्षण अस्पताल महाराजगञ्जका अरु डाक्टरसँग मिलेर फुटसल खेल्ने गरेका छन् । उनी भन्छन्, ‘फुटबलले शाररिक मात्रै होइन, मानसिक थकान पनि कम गर्छ ।’ उनका अनुसार व्यस्त दैनिकी रहेकाहरुका लागि यो मेडिटेसन पनि हो।
अहिले फुटसलका हरेक गेम उनका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। उनी भन्छन्, ‘हस्पिटलबीच हुने प्रतियोगितामा हामीहरु पनि खेल्ने गर्छौं । त्यो रमाइलोका मात्रै होइन, एकअर्काप्रति भाइचारा बढाउने माध्यम पनि हो ।’
डाक्टरहरु अरु भेटमा प्राय बिरामी र उपचारका नयाँ प्रक्रियाबारे कुरा गर्छन् । उनलाई लाग्छ, ‘यही फुटसल खेलिरहँदा हो जहाँ कामबाट केही समयका लागि मुक्ति मिल्छ ।’
उनी भन्छन्, ‘फुटबल खेल्ने ठाउँ त्यस्तो ठाउँ हो, जहाँ १० जना डाक्टर बिरामीको एकपटक पनि कुरा नगरी दुईघण्टा आफ्ना लागि समय निकाल्छन्।’
उनी अर्जेन्टिनाका समर्थक हुन् । अहिलेसम्मकै स्मरणीय विश्वकप एबिबिएस पढ्दाताको लाग्छ । गालामा अर्जेन्टिनाको झन्डा बनाएर दशरथ रंगशालामा साथीभाईसँग फुटबल हेरेको र आफ्नो टिमलाई हुटिङको गरेको उनको स्मृतिमा छन् । उनी भन्छन् ‘अहिलेसम्म त्यति रमाइलो कहिल्यै भएको छैन फुटबल हेर्दा।’
उनले विश्वकप १९८६ विश्वकपबाट हेर्न सुरु गरेका हुन्। त्योबेला अर्जेन्टेनी फुटबल खेलाडि म्याराडोनाको खुब चर्चा हुने गथ्र्यो । म्याराडोनाकै कारण उनी अर्जेन्टिनाको समर्थक भएका हुन् । त्यसपछि पनि अर्जेन्टिनामा राम्रा खेलाडि आउने क्रम जारी रह्यो र उनको समर्थन पनि जारी छ।
हरकेपटकको विश्वकप उनका लागि खास हुन्छ । त्यसैले उनी रातिसम्म बसेर फुटबल हेर्छन् । विद्यार्थीकालमा विश्वकप आउँदा जर्सी लगाएरै हिँड्ने गर्थे । अचोल विदाको बेला र फुटबल खेल्ने समयमा मात्र लगाउँछन्।
आफू अहिलेसम्म खेलकूदमा सक्रिय उनी आफ्ना र आफन्तका सन्तानलाई पढाइको किरो मात्रै नहुन सल्लाह दिन्छन् । भन्छन्, ‘अतिरिक्त क्रियाक्लापमा सहभागी हुनु पनि उत्तिकै जरुरी छ।’