काठमाडौं– रोजगारीका लागि विदेशिएकामध्ये ७ प्रतिशतभन्दा बढी नेपाली कामदार रोजगारदाता मुलुकबाट स्वास्थ्य परीक्षणमा असफल भएर स्वदेश फर्किने गरेका छन्।
रोजगारीमा गएका कामदार मुटु रोग, मानसिक रोग, फुड पोइजन, थाइराइड, श्वासप्रश्वास र फोक्सो सम्बन्धी रोग आदिबाट पीडित भएर फर्किने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।
रोजगारदाता मुलुकमा गएको तीन महिनाभित्र कामदारको स्वास्थ्य परीक्षण गरिन्छ। त्यसमा असफल भएमा कामदारलाई स्वदेश फर्काउने गरिन्छ। यसरी फर्किने कामदारलाई बोर्डले उपचार खर्च उपलब्ध गराउँदै आएको छ।
बोर्डको तथ्यांक अनुसार, गत १० वर्षभित्र स्वास्थ्य समस्याका कारण १ हजार ७ सय ७६ जना कामदार स्वदेश फर्किएका छन्। स्वास्थ्य परीक्षणमा असफल भएर फर्किने कामदारको संख्या बर्सेनि बढ्दै गएको बोर्डले जनाएको छ। स्वास्थ्य समस्याका कारण मलेसियाका साथै कतार, साउदी, कोरिया र कुवेतबाट धेरै नेपाली कामदार फर्किने गरेका छन्।
रोजगारीमा गएका कामदारलाई त्यहाँका खानेकुराबारे राम्रो ज्ञान नहुँदा धेरैजसोमा फुड पोइजन हुनेगरेको बोर्डकी पवित्रा घिमिरे बताउँछिन्। जसका कारण धेरै कामदारको स्वास्थ्यमा समस्या देखिने गरेको उनको भनाइ छ।
पछिल्लो समय तेस्रो मुलुक हुँदै रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नक्कली हुने गरेकाले पनि उनीहरूको रोगको पहिचान नभएर फर्किनुपर्ने अवस्था आउने बोर्डको भनाइ छ।
यस्तै, रोजगारीमा जानुअघि नेपालमा कामदारको स्वास्थ्य परीक्षण गर्दा मानसिक रोगलाई प्राथमिकतामा राखेर सरकारले परीक्षण नगराउने गरेको सुरक्षित आ20नका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कुलबहादुर कार्कीले बताए। कामदारको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले कडाइ नगर्दा रोजगारीमा गएका कामदारमा स्वास्थ्य समस्या उत्पन्न हुने गरेको कार्कीको दाबी छ।
रोजगारीमा गएका ४० प्रतिशतभन्दा बढी युवा मानसिक रोगबाट पीडित भएर फर्किने गरेको विभिन्न संस्थाले गरेको अध्ययनमा जनाइएको छ। समयमा उपचार नपाउँदा कतिपय मानसिक रोगीले आत्महत्यासमेत गर्ने गरेको कोरिया नेपाल समन्वयन समितिले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ।
स्वीस सरकार विकास सहयोग (एसडिसी)को एक अध्ययन अनुसार, वैदेशिक रोजगारीमा गएकामध्ये ५६.६ प्रतिशत कामदारमा स्वास्थ्य समस्या हुनेगरेको छ।
सार्क राष्ट्रहरु नेपाल, भारत र बंगलादेशबाट रोजगारीको खोजीमा जाने ६० प्रतिशतभन्दा बढी कामदारले रोजगारदाता देशमा स्वास्थ्य समस्या भोगिरहेको एसडिसीको अध्ययनमा उल्लेख छ।
पीडित कामदार
कामदार आपूर्ति गर्दा करारपत्रमा स्वास्थ्य परीक्षण गरेको खर्च रोजगारदाता कम्पनीले ब्यहोर्नुपर्ने सम्झौता छ। तर, अहिले रोजगारीमा जाने कामदार आफैंले स्वास्थ्य परीक्षण गराएर जाने गरेका छन्।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको जिम्मा पाएका संस्थाले राम्ररी परीक्षण नगर्दा विदेश गएर कामदारले दुःख पाउने गरेका छन्।
वैदेशिक रोजगार ऐनमा विदेशमाा स्वास्थ्य परीक्षण असफल भएर फर्किएका कामदारको ओहोरदोहोर खर्च स्वास्थ्य परीक्षण गर्ने संस्थाले नै व्यहोर्नुपर्ने प्रावधान छ। तर, फर्किएका कामदारलाई ती संस्थाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएर पन्छाउने गरेका छन्। कतिपय कामदार त क्षतिपूर्तिबाट वञ्चित हुने गरेको पाइएको छ।
रोजगारीका क्रममा कामदार बिरामी भए सामान्य औषधि खुवाएर रोजगारदाता कम्पनीले काममा लगाउने प्रवृत्तिले स्वास्थ्य झन् जटिल बन्ने गरेको फर्किएका कामदारहरु नै गुनासो गर्छन्।
महिला श्रमिक यौन दुराचारको सिकार
रोजगारीमा गएका धेरै महिला शारीरिक शोषणमा परी घाइते अवस्थामा नेपाल फर्किने गरेका छन्। पनि उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको छ।
वैदेशिक रोजगारीमा गएका ७ प्रतिशत महिला श्रमिक यौन दुराचारको सिकारमा परी स्वदेश फर्किने गरेको पौरखी नेपालले गरेको एक सर्वेमा उल्लेख गरिएको छ।
वैदेशिक रोजगारीबाट धेरै युवायुवती बलात्कृत भएर फर्किने गरे पनि सरकार उनीहरूको स्वास्थ्य अवस्थाप्रति ध्यान नदिने गरेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले बताइन्। यसरी फर्किएका महिला कामदारको सरकारले निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुका साथै आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने गुरुङको भनाइ छ।