काठमाडौं- नेपाल चिकित्सक संघले बिरामीको उपचारमा रहेका डा भोजराज अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालयमा लगेर दुव्र्यवहार गरेको घटनाको भत्सर्ना गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा अधिकारीलाई राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहेकै अवस्थामा चिकित्सा आचारसंहिता र तोकिएको नियम, नियमावली विपरित गलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गरको भन्दै गृह मन्त्रीको आदेश बमोजिम अपहरण शैलीमा गृह मन्त्रालयमा लगि दुव्र्यवहार गरेकोमा आपत्ती जनाउँदै भत्सर्ना गरेको हो।
'स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सेवारत रहेको अवस्थामा चिकित्सकमाथी शक्तिको दुरुपयोग गर्दै भएको अमानवीय व्यवहारप्रति यस संघ आपत्ति प्रकट गर्दछ,' संघका महासचिव डा लोचन कार्कीद्वार जारी विज्ञप्तिमा भनिएको छ, 'लोकतान्त्रिक संघीय गणतन्त्रात्मक सरकारको गृह मन्त्रीकै निर्देशनमा भनी एक निरापराध चिकित्सकमाथी भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथी नै खिल्ली उठाएको छ। त्यसैले अलोकतान्त्रिक एवं निरंकुश व्यवस्थामा समेत दुस्साहस नगरिने यस्ता अस्वाभाविक घटनाहरु आगामी दिनमा नदोहोरिउन भनी यस संघ जोडदार माग गर्दछ र गृह मन्त्रीले बोलाउनु भएको भनी चिकित्सकमाथी दुव्यवहार गर्ने सम्बन्धीत व्यक्तिमाथी कारवाहीको लागि यस संघ माग गर्दछ।'
ओपिडीमा बिरामी जाँचिरहेका डा अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको थियो।
'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।
डा अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा ‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो।