नेपालगञ्ज – भेरी अञ्चल अस्पताल नेपालगञ्जले मुटुको चालमा समस्या भएका बिरामीका लागि अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको छ।
भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट कृष्ण अधिकारी र डा बिपिन आचार्य सहित स्बाथ्यकर्मीहरुको टोलीले ह्दयाघात भई मुटुको चालमा समस्या भएका बिरामीको उपचार गर्ने क्रममा शनिवार एक जना बिरामीमा अस्थायी पेसमेकर जडान गरेर उपचार सेवा सुरु गरेका हुन्।
मुटुको चालमा समस्या भएका कैलाली लम्कीका ५७ बर्षिय गोरा सुनारको दायाँ खुट्टामा अस्थायी पेसमेकर राखेर सेवा सुरु भएको हो।
अस्थायी पेस मेकर करिब दुईहप्तासम्म राखेर उपचार गर्दा कतिपय बिरामीको मुटुको चालमा भएको समस्या ठिक हुने डा अधिकारी बताउँछन्। उनले भने, ‘अस्थायी पेस मेकर राख्दा पनि मुटुको चाल सम्बन्धी समस्या ठिक नभएमा स्थायी पेस मेकर राख्नुपर्छ।’
पश्चिम नेपालमा पहिलोपल्ट भेरी अञ्चल अस्पतालले नेपालगन्जमै अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको हो । यसबाट ५, ६ र ७ नम्बर प्रदेशका मुटु रोगीहरु लाभावान्दित हुने देखिएको छ।
काठमाडौं गंगालाल अस्पतालले लिने शुल्क बराबर अर्थात् ५ हजार रुपैयाँ लिएर बिरामीमा अस्थायी पेसमेकर राखिएको डा अधिकारीले बताए।