काठमाडौं– चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले डा गोविन्द केसीका पक्षमा गरेका कार्यक्रमको नेपाल कम्युनिस्ट पार्टी निकट चिकित्सकहरुले विरोध गर्ने भएका छन् । नेकपा निकट राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले विरोध गर्ने भएका हुन्।
नेपाल चिकित्सक संघले बिहीबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । तर, यी दुई संगठनले भने उक्त घोषणाको विरोध गर्दै अस्पतालबाट सेवा दिने भएका हुन् । राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका अनुसार सरकारले वार्ता टोली गठन गरेर सहमति खोजिरहेकाले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम जायज नलागेको बताए । उनले भने, ‘डा केसीका माग सम्बोधन गर्न सरकारले वार्ता टोली गठन गरेको छ । वार्ताबाटै समाधान खोज्नुपर्ने भएकाले अस्पताल बन्द जस्ता विरोधका कार्यक्रम जरुरी छैनन्।’
सरकारले ‘म्यान्डेट’ नदिएको वार्ता टोली गठन गरेको भन्दै डा केसीले वार्ता मन्त्री तहको वार्ता टोलीसँग मात्रै कुरा गर्ने बताएका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको वार्ता टोली गठन गरेर अल्झाउन खोजेकाले उक्त टोलीसँग वार्ता नगर्ने बताएका हुन्।
सरकारी र डा केसी पक्षधर बार्ता टोलीबीच केही चरण बार्ता भएपनि सहमति हुन सकेको छैन ।