जुम्ला- १९ दिनदेखि आमरण अनसनमा बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य स्थिति थप जटिल हुँदै गएको छ।
डा केसीको मुटुमा गम्भीर समस्या देखिएको र विगत २४ घन्टामा पहिलेभन्दा मुटुको गडबडी धेरै पटक देखिएको जानकारी उनको रेखदेखमा खटिएका चिकित्सकहरुले दिएका छन्। अहिलेकै समस्या यथावत् रहे डा केसीलाई कुनै पनि बेला सिसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था निम्तन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा डा केसीको उपचार टोलीका संयोजक डा पुजन रोकायाले बताए।
तर, सिसियूको सुविधा प्रतिष्ठानमा नभएको चिकित्सक टोलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
अघिल्लो दिनको तुलनामा बुधबार श्वासप्रश्वासमा थप कठिनाइ हुँदा डा केसीलाई चौबिसै घन्टा अक्सिजनको सहायतामा राखिएको रोकायाले जानकारी दिए।
'छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेसी बाउँडिने जस्ता समस्यामा खासै उल्लेख्य सुधार हुन सकेको छैन', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार, डा केसीका दुवै हातका नसा संक्रमित भएका छन्। स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको जनाइएको छ। बढ्दो संक्रमण र सेतो रक्तकोशिकाको निरन्तर घट्दो मात्राले सेप्सिसको जोखिम बढेको उल्लेख गरिएको छ।
रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियमको मात्रा निकै कम भएर जोखिमहरु बढे पनि डा केसीले ती तत्व लिन मानेका छैनन्।
नसाबाट निरन्तर स्लाइन पानी दिइए पनि शरीर डिहाइड्रेसन (जलवियोजन)का लक्षणहरु पनि देखिएको जानकारी चिकित्सक टोलीले दिएको छ।
डा केसीको रेखदेखमा डा रोकायाको नेतृत्वमा डा सिद्धार्थ थामी र डा धीरज गुरुङ खटिएका छन्।
चिकित्सा शिक्षा विधेयक पहिलेकै स्वरुपमा पारित गर्नुपर्ने मुख्य मागसहित डा केसी असार १६ देखि आमरण अनसनमा छन्। डा केसीको मागबारे वार्ता गर्न सरकारले असार ३२ गते शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा टोली गठन गरेर डा केसी पक्षधरसँग विभिन्न चरणमा छलफल गरे पनि सहमति हुन सकेको छैन।
यसैबीच डा केसीले बुधबार जारी विज्ञप्तिमा सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको भन्दै चिकित्सा शिक्षा विधेयक फिर्ता गरी पूर्ण म्यान्डेटसहितको टोली पठाए मात्र वार्ता हुने बताएका छन्।