काठमाडौं– कैलालीकी लक्ष्मी स्वाँर बुधबार दुई वर्षीय छोरालाई लिएर कान्ति बाल अस्पताल पुगेकी थिइन्। अस्पतालको कोरिडोरमा लस्करै बनाइएका चित्रहरुमा आमा–छोराको आँखा गइरहेको थियो।
छोरा घरिघरि औंलाले भित्तामा राखिएको चराको चित्र देखाउँदै थिए। आमा चाहिँ छोरालाई चित्रबारे बुझाउने कोसिस गरिरहेकी थिइन्। आफ्नो साथीको छोरालाई जँचाउन आएको सुनाउँदै उनले छोरालाई एकछिन अस्पताल घुमाएर चित्रहरु देखाइरहेको बताइन्।
‘यस्ता राम्रा चित्र देख्नासाथ बाबु खुसी भइहाल्यो, उसलाई एकछिन भुल्याउन काम गर्यो’, उनले भनिन्।
देशकै ठूलो बाल अस्पताल कान्ति परिसरमा छिर्नेबित्तिकै पछिल्लो समय तपाईंले बेग्लै अनुभूति गर्न सक्नुहुन्छ। अस्पताल जाँदा जोसुकैका आँखा पनि आकर्षक चित्रहरुमा परेर मन शीतल हुन्छ। त्यसमा पनि साना बालबालिका रंगीविरंगी चिप्रति मोहित नहुने कुरै भएन।
चरा, माछा, हरिण, सर्प आदि विभिन्न चित्र कोरिएका भित्ताहरुले पछिल्लो समय कान्ति अस्पतालको रुप नै फेरिएको छ। उपचार गर्न आएका बालबालिका पनि आफ्नो समस्या भुलेर चित्रहरुमा रमाइरहेका हुन्छन्।
कक्षा ४ मा पढ्ने बानेश्वरका सुजन गुरुङ मुखमा बारुलाले टोकेर उपचारका लागि आमासित आएका थिए। उनलाई सबैभन्दा राम्रो चित्र हरिणको लागेको रहेछ।
उनले भने, ‘म पनि घरमा चित्र बनाउने गर्छु, यहाँको ठूला चित्रहरु निकै मन पर्यो।’
सुशीलादेवी मण्डलले सात वर्षीय छोरा राजुको पेटको उपचारका लागि बुधबार मात्रै जनकपुरबाट आएको बताइन्। छोराले अस्पताल छिर्नेबित्तिकै भित्तामा राखिएका चराको चित्र देखेर रमाएको उनले सुनाइन्।
‘चरा, माछा कस्तो राम्रो भनेर ऊ एकदम खुसी भएको छ। अरु अस्पतालमा यस्तो देखेको थिइनँ’, उनले हँसिलो भावमा बताइन्।
अस्पताल भन्नेबित्तिकै स्वास्थ्यमा जटिलता आएर तनावपूर्ण अवस्थामा पुगिने ठाउँ हो। त्यसमा पनि अधिकांश सरकारी अस्पतालको मुख्य प्रवेशद्वारबाट छिर्नेबित्तिकै अस्तव्यस्तताका कारण बिरामीहरुको मनस्थिति झनै अशान्त हुन्छ। यस्तो अवस्थामा चित्रहरुको साजसज्जाले कान्ति अस्पतालको वातावरण मनमोहक भएर आगन्तुक र बिरामीहरुमा फरक प्रभाव पर्न थालेको छ।
अस्पताललाई चित्रले सजाउने यो प्रोजेक्टलाई ‘हेल्थ ट्रान्सफर्म्ड बाइ आर्ट’ नाम दिइएको छ, जसलाई सिद्धार्थ आर्ट ग्यालरीले सहयोग गरेको छ।
भित्तामा मुरल आर्ट (भित्ता वा छतमा टाँसिने/राखिने कला), इन्स्टलेसन आर्ट (प्रतिस्थापन कला), र फोहोरबाट बनाइएका विभिन्न कलात्मक चित्र पनि देख्न सकिन्छ। कान्तिसहित मनमोहन कार्डियो भास्कुलर अस्पताल, नर्भिक, ओम, ग्रान्डी र सहिद गंगालाल अस्पतालबाट संकलित फोहोर संकलन गरेर सुन्दर चित्रको रुप दिइएको हो।
मुरल आर्टको डिजाइन कलाकार किरण महर्जन र श्रद्धा श्रेष्ठले गरेका छन् भने प्रतिस्थापन कला मेख लिम्बूले सिर्जना गरेका हुन्। कान्तिलाई चित्रले सजाउने काममा काठमाडौं विश्वविद्यालय, सिर्जना फाइन आर्ट कलेज तथा अरु संस्था गरी करिब ७८ जनाको सहयोग रहेको छ।
काठमाडौं विश्वविद्यालय फाइन आर्टका प्रोग्राम कोअर्डिनेटर मनिषलाल श्रेष्ठका अनुसार, यो कामले समाजप्रतिको दायित्व वहन गर्न सिकाउनुका साथै विद्यार्थीमा अस्पतालबाट निस्किने फोहोरलाई कसरी कलाको स्वरुप दिन सकिँदोरहेछ भन्ने पनि ज्ञान दिएको छ।
के भन्छन् यस प्रोजेक्टमा जोडिएका कलाकर्मी र अन्य पक्ष?
‘कामको मूल्यांकन भएकोमा खुसी लागेको छ’
किरण महर्जन र श्रद्धा श्रेष्ठ, आर्टिस्ट, मुरल आर्ट
काठमाडौं विश्वविद्यालयमा फाइन आर्टका विद्यार्थी हामी ७/८ वर्षदेखि नै कला क्षेत्रमा आबद्ध छौं। कान्तिको प्रोजेक्टमा हामीले मुरल आर्टको जिम्मा लिएका हौं। दुवैले एक–अर्कालाई पहिल्यैदेखि चिनेकाले काम गर्न सजिलो भयो।
हामीले चित्रहरुमा मुख्य जोड प्रकृतिलाई दिएका छौं। सबै चित्र बालबालिकाका लागि लक्षित छन्। उनीहरुले चित्र हेर्दा राम्ररी अध्ययन गरुन्, भित्री अर्थ र त्यसको महत्व बुझून् भन्ने हाम्रो चाहना हो।
अस्पतालमा हामीले चित्र बनाइरहँदा मानिसहरुले यो के गरेको भनेर सोध्थे। आफ्नो कामप्रति चासो राखेकोमा खुसी लाग्थ्यो। चित्रले बालबालिकामा उत्सुकता अझ बढाएको छ। उनीहरु त्यही चित्रमार्फत संवाद गरिरहेका हुन्छन्।
लामो समय खटेर चित्र बनायौं। अहिले आफ्नो कामको मूल्यांकन भएको देख्दा खुसी लाग्छ।
‘चित्रले उपचारमा आउनेहरुको पीडा कम गरिदेओस्’
संगीता थापा, संस्थापक, सिद्धार्थ आर्ट ग्यालरी
यो काम सुरु गर्ने धेरै पहिलेदेखि इच्छा थियो। हामीले यो प्रोजेक्ट कला महोत्सव ‘काठमाडौं ट्रिनाले’मै राख्ने सोचेका थियौं। तर, त्यतिबेला पूरा भएन। कान्तिमा मार्च महिनादेखि प्रोजेक्ट सुरु गरेका हौं।
सुरुमा अस्पतालबाट फोहोर संकलन गर्दा पनि धेरै टीका–टिप्पणी भए। तर, पछि त्यसको सकारात्मक प्रतिक्रिया आयो। कान्तिमा देशका विभिन्न क्षेत्रबाट आमबुवाहरु आफ्ना बालबालिकाको उपचारका लागि आएका हुन्छन्। पीडामा हुन्छन्। ती भित्ते चित्रहरुले थोरै भए पनि पीडा कम गर्ला भन्ने हाम्रो चाहना हो। किनकि कलामा सबैको आँखा जाने भएकाले एकछिन भए पनि ध्यान मोड्ने माध्यम त बन्छ।
यस अस्पतालबाट अरु अस्पतालले पनि केही सिकून् भन्ने नै चाहना हो। भक्तपुर क्यान्सर हस्पिटलमा म आफैँले गर्ने सोच बनाएको छु।
‘बच्चाहरुको सिर्जनशीलता बढाउन आर्ट प्रोजेक्ट’
सृष्टि शाक्य, प्रोजेक्ट कोर्डिनेटर, हेल्थ ट्रान्सफर्म्ड बाइ आर्ट
नेपालको ठूलो बाल अस्पताल भएकाले हामीले आर्ट प्रोजेक्टका लागि कान्ति रोजेका हौं। बच्चाहरु बिरामी हुँदा ठूलाहरुभन्दा बढी पीडामा हुन्छन्। अस्पताल जस्तो ठाउँमा रमाउने ठाउँ के नै पो हुन्छ र? शारीरिक रुपमा अस्वस्थ मानिसलाई दिमागी रुपमा स्वस्थ बनाउने कुरा कलामा रहेको हुन्छ। यही सोचले कलाका माध्यमले बच्चामा भएको दुःखाइलाई एकछिन भए पनि भुलाउन मद्दत गर्छ भन्ने विश्वास हामीले लिएका छौं।
आजका धेरैजसो आमाबाबाले बच्चाहरुलाई मोबाइलमा गेम खेलाइदिएर वा केही नगरी बच्चाको समय कटाउँछन्। तर, चित्रहरुले सिर्जनात्मक शक्तिमा वृद्धि गराउँछ।