काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सातवटै प्रदेशमा स्वास्थ्य अनुसन्धान परिषदको इकाई गठन गर्न निर्देशन दिएका छन्।
परिषद्का विषयमा जानकारी लिँदै मन्त्री यादवले अनुसन्धानको दायारालाई फराकिलो बनाउन इकाई स्थापना गर्न निर्देशन दिएका हुन्।
‘अब स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्छ,’ परिषद्मा आयोजित कार्यक्रममा निर्देशन दिँदै उनले भने, ‘यसका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ।’ उनले तराईमा विशेषगरी थारु समुदायमा मात्र देखिएको दुर्लभ रोग सिकलसेल एनिमियाबारे अहिले भइरहेको अनुसन्धानलाई अझ प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन्।
मन्त्री यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको पनि अनुसन्धान हुनुपर्ने बताए। ‘एउटै रोगका कम्पनीपच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रभाव पारिरहेको छ,’ उनले भने, ‘त्यसकारण औषधिको पनि गुणस्तर जाँच गर्नुका साथै खाद्यपदार्थको गुणस्तर, त्यसले पारिरहेको असरबारे पनि अनुसन्धान गर्न निर्देश गर्छु।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अन्जनीकुमार झाले परिषद्ले हाल गरिरहेका कामबारे मन्त्री यादवलाई जानकारी गराएका थिए। उनले परिषदबाट क्यान्सर रोगीको तथ्यांक संकलन, सिकलसेल एनिमियाबारे अनुसन्धान, 11 अनुसन्धान परिषद्को सिफारिसमा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, वायु प्रदुषणलगायतका अनुसन्धानात्मक काम भइरहेको जानकारी दिए। मन्त्री यादवलाई अध्यक्ष झाले अनुसन्धानका लागि पर्याप्त स्रोत साधन उपलब्ध गराउन समेत आग्रह गरेका थिए।