जुम्ला- सरकारले अनसनरत डा गोविन्द केसीको माग पुरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश गर्न दिएका छैनन्।
सरकारले आज बिहान डा केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो। जुम्ला पुगेका टोलीलाई जुम्लाका स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरु गरेर ५ सय भन्दा बढीले रोकेका छन्।
उनीहरुले डा केसीको माग पुरा नगरी अपहरण गर्न लागेको भन्दै टोलीलाई प्रवेश गर्न नदिएका हुन्। स्थानीयको अवरोधपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको डा केसीसँगै रहेका विशद दाहालले जानकारी दिए।
उनका अनुसार डा केसीले माग पुरा नभएसम्म जुम्ला नछोड्ने बताएका छन्। डा केसीले उक्त कुरा बताएपछि स्थानीय तथा विद्यार्थीहरुले डा केसीसम्म पुग्ने सबै बाटोमा मानव साङ्लो बनाएर नाकाबन्दी गरेका छन्।







