काठमाडौं– सरकारले डा गोविन्द केसीलाई अपहरण गर्न लागेको भन्दै प्रतिरक्षामा उत्रेका जुम्ली आमा, विद्यार्थीदेखि सर्वसाधरणमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले जुम्ला स्थानीयमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटमा बसेका महिला तथा सर्वसाधरणहरुलाई तितरबितर बनाएर प्रहरीहरु अस्पतालभित्र छिरेका छन्। उनीहरुले बलजफ्ती गरेर भए पनि डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेका हुन्।
महिलाहरुले अस्पताल बाहिर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। अस्पतालभित्र विद्यार्थी तथा स्थानीयहरुले मानवसाङ्लो बनाएर प्रहरीलाई रोक्ने प्रयास गरिरहेका छन्। सो क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्दा केही विद्यार्थी घाइते भएको डा केसीसँगै रहेका मेडिकल विद्यार्थी विशद दाहलले बताए।
सरकारले आज बिहान डा केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो। जुम्ला पुगेको टोलीलाई स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरुहले अस्पताल प्रवेशमा रोक लगाएका थिए।
उनीहरुले डा केसीको माग पुरा नगरी अपहरण गर्न लागेको भन्दै टोलीलाई प्रवेश गर्न नदिएका हुन्। स्थानीयको अवरोधपछि अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको डा केसीसँगै रहेका विशद दाहालले जानकारी दिए।
उनका अनुसार डा केसीले माग पुरा नभएसम्म जुम्ला नछोड्ने बताएका छन्।



