काठमाडौं– चिकित्सा क्षेत्रको सुधारको माग राखी २० दिनदेखि अनसनमा रहेका डा गोविन्द केसीले स्वास्थ्य जाँच नगर्ने निर्णय गरेका छन्। उनले सामान्य स्लाइन बाहेक कुनै पनि औषधि प्रयोग नगर्ने भएका छन्।
डा केसीलाई सरकारले बिहीबार जबर्जस्ती काठमाडौं ल्याएको थियो। उनलाई शिक्षण अस्पतालमा राखिएको हो। अस्पतालका उनका सहयोगीहरुले पत्रकार सम्मेलन गरी डा केसीका निर्णय सुनाएका हुन्। स्लाइनबाट उनले औषधि तथा कृत्रिम अक्सिजन समेत नलिने निर्णय गरेका छन्।
विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेसम्म अनसन नछाड्ने उनको अडान छ। डा केसी जुम्लामा अनसन बसेका थिए। उनलाई काठमाडौं ल्याउन खोज्दा अस्पताल परिसरमा झडप समेत भएको थियो। झडपमा प्रहरी जवानको मृत्यु भएको र अस्पतालमै आगलागी गर्न लागिएको गलत सूचना दिएर डा केसीलाई काठमाडौं जान बाध्य बनाइएको डा केसीका सहयोगीले बताए।
यसैबीच, डा केसीले विज्ञप्ति जारी गरी अनसनमा भएको प्रहरी हस्तक्षेपको भर्त्सना गरेका छन्। सरकारले अस्पताललाई युद्धभूमि जस्तो बनाई अमानवीय रूपमा सत्याग्रहीको इच्छा विपरीत अपहरण शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको उल्लेख गरेका छन्। उनले ज्यादतीमा संलग्नलाई कारबाहीको माग समेत गरेका छन्।
डा केसीले माग पूरा नहुँदासम्म अनसन जारी राख्ने पनि बताएका छन्।
यस्तो छ डा केसीको विज्ञप्ति:
चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसनसहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्गप्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ। सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।
यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनुहुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु।
माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै, आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।
प्रा. डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
२०७५/४/३