काठमाडौैं– डा गोविन्द केसीका माग पुरा गराउन सरकारलाई दबाब दिन आइतबारदेखि उनका समर्थकहरु सामूहिक रुपमा अनसन बस्ने भएका छन्। पहिलो दिन आइतबार १० देखि ५ बजेसम्म बसन्तपुरमा सामूहिक अनसन बस्न लागिएको हो।
शनिबार माइतिघरमा आयोजित प्रदर्शनमा त्यससम्बन्धि जानकारी दिइएको छ। सरकारलाई दबाब दिन र डा केसीको जीवनरक्षाका लागि आन्दोलनलाई नयाँ स्वरुपमा अगाडि बढाउन सामूहिक अनसन बस्न लागिएको हो। माग पूरा नभएसम्म सामूहिक अनसन बस्न लागिएको हो।
२२ दिनदेखि अनसनमा रहेका डा केसीले औषधी लिन मानेका छैनन्। चिकित्सकहरुले डा केसीको स्वास्थ्य अवस्थामा थप जटिलता देखिएको बताइरहेका छन्। काठमाडौं ल्याएपछि वार्ताको वातावरण बन्छ भनेको सरकारले वार्ताका लागि चासो दिएको छैन।
यस्तो अवस्थामा उनको अनसनप्रति ऐक्यबद्धता भने बढ्दै गइरहेको छ। डा केसीको समर्थनमा शनिबार पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित भएका छन्।
त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारण सहभागी छन्।
प्रदर्शनमा चिकित्सक, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि शनिबार माइतिघरमा प्रदर्शन गरेका छन्।
केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा टोली गठन गरेपनि टोलीलाई म्यान्डेट दिइएको छैन। जसकारण वार्ता अनिश्चित बनेको छ।