काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा गोविन्द केसीको कामै अनसन बस्नु भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औं स्मृति दिवसमा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले डा केसी अनसन बसेको पहिलो पटक नभएको भन्दै हलुका प्रतिक्रिया दिएका छन्।
उनले भने, 'डा केसी अनसन बसिरहनु हुन्छ। यो नेपाली समाजले पचाइसकेको छ।' यसैगरी प्रचण्डले डा केसीसँग वार्ता गर्न सरकार तयार रहेको पनि बताए।
उनले दुई तिहाइको सरकारलाई 'कु व्याख्या' गर्न थालिएको पनि बताएका छन्। सरकार विरुद्ध विभिन्न बहानमा नियोजित चाल चलिएको आरोप लगाएका छन्।
उनले नेपाली कांग्रेसले डा केसीको लासमाथि राजनीति गर्न खोजेको भन्दै समस्या चर्काइरहेको टिप्पणी गरे । उनले भने, 'प्रधानमन्त्री केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र मैले हिजो मात्रै छलफल गरेका हौं । देउवाजीलार्इ समाधानतिर लागौं भन्यौं । डा केसीलार्इ मनाउनुहोस्, नत्र हाम्रो आन्दोलन जारी रहन्छ भन्नुहुन्छ । के काँग्रेस एजेन्डा बिहीन भएको हो ?'
कुनै व्यक्तिका मागका आधारमा निर्णय गर्नुपर्ने अवस्था अाइरहेको भन्दै उनले प्रश्न गरे, 'त्यसो भए चुनाव किन चाहियो ? संघीयता किन चाहियो ?'