काठमाडौं– जुम्लाबाट काठमाडौ आएसँगै आज पहिलोपटक डा.केसीको शरिरमा भएका परिवर्तनहरुबारे परिक्षण भएको छ। ८० वर्षीया आमा मित्र कुमारी केसीको विशेष आग्रहमा डा केसीले स्वास्थ्य परिक्षण गर्न मानेका हुन्।
आइतबार साँझ आफ्ना छोरालाइ भेट्न शिक्षण अस्पताल पुगेकी मित्र कुमारी स्वास्थ्य परिक्षण पनि नभएको कुरा थााह पाउनासाथ विक्षिप्त भएकी थिइन्। भेटमा केही नबोलेपछि टेलिफोन मार्फत भावुक हुँदै उनले आफ्ना छोरालाइ कमसेकम स्वास्थ्य परिक्षण गराउन आग्रह गरेकी थिइन्।
डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहेकी भएकी डा.दिव्या सिंह शाहले पनि यसबारे डा केसीलाई आग्रह गरेका थिए। बोल्न नसके पनि करिब ४५ मिनेटसम्म डा.दिव्याको कुरा सुनेपछी र आमाको विशेष आग्रहमा डा.केसीले रगत परिक्षण गराउन सहमति दिएका हुन्।
यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन् । रगतका सम्पुर्ण ’प्यारामिटर’हरु असामान्य छन्।
सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ। यति कम सेतो रक्तकोशिका भएका बिरामीलाइ यदि कुनै संक्रमण भइहाले , त्यसले भयावह रुप लिनेछ। यही कारण भेट्न आउने मानिसहरुलाइ १० मिटर परै राख्ने गरिएको छ र डा.केसी अनसन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ’ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यसले केही हदसम्म संक्रमण रोक्ने भएतापनि अब भने थप सावधानी नअपनाए डा.केसीलाइ गम्भीर खाले संक्रमण हुने जोखिम रहेको चिकित्सकहरुले बताएका छन्।
डा केसीको रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ । शरिरका सबै अङ्गहरुले काम गर्ने भनेकै ग्लुकोजबाट प्राप्त शक्तीले नै हो । यसको मात्रामा कमि आएसँगै अङ्गहरुले बिस्तारै काम गर्न छाड्नेछ्न । विशेषत ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर ब्रेनमा देखिन्छ । स्नायुहरु शक्तिहिन बन्दै जान्छन् र बेहोस हुने , सिजर हुने अर्थात छारे रोगका लक्षणहरु पनि देखिन सक्छ।
जुम्लामा रहदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै बढेको छैन। विशेषत पोटासियम एकदमै न्युन छ जसको सिधा सम्बन्ध मुटुसँग छ ।उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यहि अवस्थामा डा.केसीको मुटु जुनसुकै बेला पनि बन्द हुनसक्छ। यति कम पोटासियममा पनि किन इसिजिमा परिवर्तन देखिएन भनेर चिकित्सकहरु छलफल गरिरहेका छन्।
एकपटक इसिजिमा परिवर्तन आउनासाथ डा.केसीलाइ सिसियुमै राखेर उपचार गर्नुपर्ने यो भन्दा पहिल्यै चिकित्सकहरुले बताइसकेका छन्।
‘रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ। एकैछिन पनि अक्सिजन नलगाउदा उहाँलाई निकै अप्ठ्यारो हुन्छ , कहिलेकाहि त हप्याक–हप्याक नै हुने गरेको छ अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको छ,’ डा.केसीसँग चौबिसै घण्टा साथ रहने उनका भाइ किशोर केसीले बताए। विगत एक दुई दिनदेखि धैरैपटक वाकवाकी लाग्ने समस्याले पनि डा.केसीलाइ आक्रान्त बनाएको छ।