काठमाडौं– नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै अाजदेखि ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने भएका छन्। बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गर्ने संघको निर्णय छ।
त्यस्तै उपत्यकाका चिकित्सकहरु बसन्तपुरमा सामूहिक अनसन बस्ने भएका छन्।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जसअनुसार संघले उपत्यका बाहिरका डाक्टरहरुलाई पनि नियमित ओपिडी टिकट बहिस्कार गर्दै रिले अनसन तथा धर्नाका कार्यक्रम गर्न भनेको छ।
यस्तो छ संघले जारी गरेको विज्ञप्ती
चिकित्साक्षेत्रको सुधारको माग राखी असार १६ गते देखि अनसनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सीको जीवन रक्षाका लागि नेपाल सरकारले २४ औं दिन वितिसक्दा पनि गम्र्भिरता प्रकट नगरिएको हुनाले डा. के.सी. को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।
यस्तो बिषम परिस्थितिमा नेपाल चिकित्सक संघले निम्न लिखित दबाबमूलक कार्यक्रम घोषणा गरी देशभरका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्न गराउन यसै विज्ञप्ती मार्फत संघका सम्पूर्ण शाखा कार्यालयहरु र देशभरका स्वास्थ्य संस्थाहरुमा हार्दिक अपिल गर्दछ ।
१) रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।
२) देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।
३) देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, (याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।
४) काठमाडौं उपत्यकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।
डा. गोविन्द के.सी.को जीवन रक्षार्थ उल्लेखित विरोध कार्यक्रम देशभर प्रभावकारी रुपमा संचालन गर्न नागरिकहरुलाई सहयोग र समर्थनको लागि यस संघ हार्दिक अपिल गर्दछ ।
डा. लोचन कार्की
महासचिव