काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छात्रामाथि अमर्यादित टिप्पणी गरेपछि विवादित भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
नेकपाको हिजो साँझ बसेको बैठकले मन्त्रीको अभिव्यक्तिले सरकार विवादमा पर्नुका साथै चौतर्फी रुपमा आलोचना भएको भन्दै तमाङलाई फिर्ता आउन निर्देशन दिएको एक सचिवालय सदस्यले बताए।
बैठकमा मन्त्री तमाङलाई मन्त्री पदबाट फिर्ता भई सरकारको साख बचाउन दुवै अध्यक्षले नै आग्रह गरेका थिए। सरकारबाट फिर्ता बोलाउने निर्णय गरे लगत्तै आज कानुनमन्त्री तमाङले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।
राजिनामा दिने बारेमा मन्त्रीसँग जिज्ञासा राख्दा उनले प्रष्ट जवाफ दिन चाहेनन्। मन्त्री पदबाट फिर्ता बोलाइएको हो? भनेर सोधिएको प्रश्नमा मन्त्री तामाङले भने,‘२ बजे मन्त्रालयमा पत्रकार सम्मेलन डाकिएको छ। उतै आउनुस् न।’
मन्त्रालयमा आफूले गरेका काम र कानुनसम्बन्धी केही तथ्यहरुसमेत जानकारी दिन लागेको उनले बताए।