काठमाडौं– अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि आज दुवै पक्ष वार्तामा बस्ने भएका छन्।
अनसनको २५औं दिनमा आज नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डिनहरु डा मदन उपाध्याय, डा रमेशकान्त अधिकारी र डा केसीका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहबीच अनौपचारिक छलफल भएपछि दुवै टोलीबीच वार्ता हुन लागेको हो।
शिक्षा मन्त्रालयमा साँझ साढे ५ बजे सुरु हुने वार्तामा सरकारको तर्फबाट पुरानै टोली ‘म्यान्डेट’सहित प्रस्तुत हुने बताइएको छ। डा केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजनमा, सुरेन्द्र भन्डारी, ओमप्रकाश अर्याल, डा अभिषेक राज सिंह र सुमीत पाण्डे सहभागि हुनेछन्।
वार्तामा मुख्यतय चिकित्सा शिक्षा विधेयकका बारेमा छलफल हुने जनाइएको छ।
यसअघि, आजै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता सुवास नेम्वाङसहित काउन्सिलका अध्यक्ष डा बास्कोटा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायतसँग अनौपचारिक छलफल भएको थियो।