काठमाडौं– अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा गोविन्द केसी पक्षाबीचको वार्ता एक घन्टाका लागि स्थगित भएको छ। शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा केही विषयमा कुरा बाझिएपछि सम्बन्धित पक्षसँग सल्लाह गर्नका लागि स्थगित गरिएको बुझिएको छ।
वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा संशेधन गर्न डा केसीले सुझाएका छन्। तीमध्ये अधिकांस बुँदामा सहमति भएपनि केही बुँदामा कुरा मिलेको छैन।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन्।
यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि छन्।