काठमाडौं– डा गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा डा केसी पक्षधरसँग भएको वार्ता सहमति नजिक पुगेको छ।
वार्तामा संलग्न सरकारी टोलीका एक सदस्यले १–२ घन्टापछि लिखित सम्झौताको सम्भावना रहेको बताए।
डा केसीले उठाएका माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा बिधेयकमा संशोधन गर्न सरकार तयार भएपछि सहमति हुन लागेको हो।
मंगलबार नै त्यससम्बन्धि सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता भाँडिएको थियो। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसी पक्षका वार्ता टोलीका सदस्यहरुसँग आफैं छलफल गरेका थिए। बेलुका १ बजेसम्म छलफल भउको थियो।
त्यस्तै बिहीबार पनि बालुवाटारमा बिहानैदेखि अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा सरकारको तर्फबाट नेता सुवास नेम्बाङ तथा प्रधानमन्त्री कार्यालयकी चिकित्सक डा दिब्या सिंह शाहले सक्रियता देखाएका थिए। त्यस्तै मेडिकल काउन्सिका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा तथा केदार भक्त माथेमा छलफलमा संलगन समेत थिए।
डा.केसीको तर्फबाट सुरेन्द्र भण्डारी, अभिषेकराज सिंह लगायतले प्रतिनिधित्व गरेका थिए।
डा. केसीका एक सहयोगीले पनि आज समझदारी हुने र अनसन तोडिन सक्ने जानकारी दिए।
डा केसी २७ दिनदेखि अनसनमा छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।