काठमाडौं- सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच हुनै लागेको ९ बुँदे सहमति रोकिएको छ। बालुवाटारमा भएको छलफलमा माथेमा आयोगका सिफारिस अनुसार विधेयक संशोधन गर्ने भनिएपनि एउटा बुँदामा भने सरकार पछि हटेको वार्ता टोलीका एक सदस्य डा अभिषेकराज सिंहले बताए । उनका अनुसार काठमाडौं उपत्यका १० वर्ष सम्बन्धन दिन नहुने प्रावधानलार्इ सरकार पक्षले अस्वीकार गरेको हो।
यसअघि सरकारी र डा केसीका वार्ता टोलीबीच सहमतिका लागि ७ बुँदा तय गिरएको थियो । डा केसीले नमानेपछि बालुवाटारमा पुन: छलफल भएको थियो । दुर्इ बुँदा थपेर ९ बनाइएको थियो। सहमतिका लागि सरकारका तर्फबाट सक्रिय नेकपा नेता सुवास नेम्वाङले सहमतिको लिखित भाषा मिलाउने काम भइरहेको न स्वास्थ्यखबरलार्इ बताएका थिए । उनले भनेका थिए,‘सहमति भयो, भाषा मिलाउने बाँकी छ, त्यसपछि हस्ताक्षर हुन्छ।’
डा केसीका तर्फबाट वार्ता टोलीमा रहेका वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले त्यही विषयमा छलफल गरिरहेका बताए । उनले भने, 'हामी त्यही विषयमा सहमति जुटाउने अन्तिम प्रयास गरिरहेका छौं । उक्त बुँदामा सहमति नहुन्जेल आफू ब्याक नहुने डा केसीले बताउनुभएको छ।'
डा केसी पक्षलार्इ वार्ताका लागि पुन: वालुवाटार बोलाइएको छ ।