काठमाडौं– सरकार र अनसनरत डा गोविन्द केसीपक्षबीचको वार्ता सहमति नजिक पुगेको छ। बिहीबार बेलुका अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सहमति हुने निश्चित भएको हो।
सहमतिपछि डा केसीले आजै अनसन तोड्ने भएका छन्। डा केसीलाई अनसन तोडाएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा लग्ने तयारी भएको छ। उनका लागि आइसियु खाली गराइसकिएको छ।
बेलुकासम्म भएको छलफलमा सहमति जुटेको डा केसीका तर्फबाट वार्ता टोलीमा आबद्ध एक सदस्यले बताए।
दिउँसोकै वार्तामा सहमति भएपनि १० वर्षसम्म उपत्यकामा मेडिकल खोल्न दिने कि नदिने भन्नेमा विवाद भएको थियो। सम्झौतापत्रमा सरकारले आशयपत्र दिइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने विषय थियो। जून प्रस्ताव डा केसीले नमानेपछि वार्ता भाँडिएको थियो।
गत २० गते केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट काठमाडौं ल्याई शिक्षण अस्पतालमा राखिएको थियो। २७ औं दिनमा डा केसीले अनसन तोड्न लागेका हुन्।