काठमाडौं– नेपाली काँग्रेसले डा गोविन्द केसीसँग भएको सम्झौता संसदमा जानकारी गराउन माग गरेको छ। शिक्षामन्त्रीले यससम्बन्धि जानकारी गराउनुपर्ने कांग्रेसको भनाई छ।
प्रतिनिधि सभाको वैठक सुरु भए लगत्तै नेपाली काँग्रेसमा नेता मिनेन्द्र रिजालले यस्तो माग गरेका हुन्। केसीसँगको सहमति जानकारी नभएको वताउँदै रिजालले भएको सहमति सदनलाई जानकारी गराउन आग्रह गरे।
संसदलाई चित्त बुझ्ने जानकारी दिएपछि मात्र चिकित्सा शिक्षा बिधेयक प्रक्रिया अघि बढ्ने÷नबढ्ने उनको भनाई छ।
रिजालले डा केसीको अनसनमा यति लामो प्रताडना आवश्यक नभएको वताए। ‘माथेमा आयोगको प्रतिवेदनको आधारमा बिधेयक नल्याएको कारण यस्तो परिणाम भोग्नुपर्याे’ उनले भने।
दम्भ र अहंकारको सिंहासनमा बसेपनि जनताको सामु सरकार झुक्न वाध्य भएका रिजालले बताए। डा केसी र माथेमा आयोगले देखाएको बाटोमा सरकार हिड्न वाध्य भएको उल्लेख गर्दै रिजालले लोकतन्त्रमा संख्या नभई जनता महत्वपूर्ण हुने बताए।
सभामुख र उपसभामुख एउटै दलको नहुने वाध्यकारी व्यवस्थालाई कुल्चेको आरोप समेत रिजालको छ।
सहमतिपत्र संसदमा नसुनाई बैठक चल्न नदिने अडानपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।