फाइल तस्विर
प्युठान– प्युठानका महिला स्वास्थ्य स्वयंसेविकाहरु गर्भवती महिलाको खोजी गर्दै घरदैलो अभियानमा जुटेका छन्। स्वास्थ्य संस्थामा सुत्केरी हुने र गर्भजाँच गराउनेहरुको संख्या अझै पनि न्युन रहेकाले मातृ तथा बाल स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य कार्यालय प्युठानले यो अभियान संचालन गरेको हो।
जिल्लामा गर्भवती भएका महिलाहरु स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठान र मेडिक मोबाइलको प्राविधिक सहयोग तथा नौवटै स्थानीय तहको आर्थिक सहयोगमा जिल्लाभरका स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई समेटेर मोवाइल स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए।
जिल्लाभरिका ५० स्वास्थ्य संस्था र ४ सय ४२ जना महिला स्वास्थ्य स्यमंसेविकाहरुलाई मोवाइल, सिमकार्ड र तालिम प्रदान गरी कार्यक्रम सञ्चालन गरिएको मेडिक मोवाइल कार्यक्रमका कार्यक्रम अधिकृत पवन बैश्यले बताए।
महिला स्वास्थ्य स्वयंमसेविकाहरुले आमा समूहहरुको सहयोग लिँदै घरदैलोमा पुगेर कुन–कुन महिला गर्भवती छन् ? ती गर्भवतीले नियमित स्वास्थ्य जाँच गराइरहेका छन् कि छैनन् ? त्यस स्वास्थ्य संस्था अन्तर्गत मातृ मुत्युको बढी जोखिममा परेका गर्भवती महिला कति छन् ? र, ती गर्भवतीको सुत्केरी हुने अनुमानित मिति मोवाइलमार्फत् दर्ता गर्र्ने गरेका छन्।
यो कार्यक्रमले अब कुनै पनि गर्भवति महिला स्वास्थ्य सेवा लिनबाट बञ्चित नहुने प्युठान जिल्लामा उत्कृष्ट महिला स्वास्थ्य स्वयंमसेविकाबाट पुरस्कृत समेत भइसकेकी घरदैलो अभियानमा जुटिरहेकी महिला स्वास्थ्य स्वयंमसेविका पवित्रा जि.सी बताउँछिन्।
‘पहिले आमा समुह मार्फत सेवा दिने तथा गर्भवतिको पहिचान गर्ने गरेका थियौं,’ उनले भनिन्, ‘अहिले त प्रत्येक घरमा गएर खोज्ने गरेका छौं।’ दिएको जिम्मेवारी अनुसार घरदैलोमा काम गरेता पनि उपयुक्त सेवा सुविधाको ब्यवस्था नहुँदा काम गर्न समस्या हुने गरेको उनको गुनासो छ।
मोवाइल स्वास्थ्य कार्यक्रम मार्फत यो समाचार तयार पार्दासम्म जिल्लामा ८ सय १५ जना गर्भवति महिलाहरुको दर्ता भएको छ। यो प्रविधी मार्फत दर्ता भइसकेपछि स्वचालित रुपमा गर्भवतीको गर्भजाँचको समय हुने बित्तिकै मोबाइलबार्ट सम्झना सन्देश पठाउँछ । यो प्रक्रिया उक्त महिला सुत्केरी महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा रहेका गर्भवतिहरुलाई मोबाइलबाटै सम्झना सन्देश पठाउनेछ। यो प्रक्रिया सुत्केरी भएर प्र्रसुति जाँच गराउँदासम्म सन्देश पठाएर सम्झाउँदै उक्त सेवा लिन प्रेरित गर्नेछ।
कार्यक्रममा तथ्यांक संकलन मात्रै नभएर कुनै महिला चेकजाँचका लागि आए÷नआएको एकिन गर्ने र आएन भन्ने विवरण सहितको एसएमएस सन्देश स्वास्थ्य संस्थामा प्रमुखलाई दिइने र त्यस्ता गर्भवतीको खोजतलास गरेर आवश्यक स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य संस्थाका प्रमुखहरुलाई घच्घचाउने प्रणालीको समेत ब्यवस्था रहेको कार्यक्रम अधिकृत पवन बैश्यले बताए।
सबैको सहयोगले कार्यक्रमलाई प्रभावकारी बनाई कुनैपनि गर्भवति महिलाहरुलाई स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिई मातृ, नवशिशु तथा बाल स्वास्थ्यमा सुधार ल्याई मृत्युदरमा कमी आउने विश्वास लिएको जनस्वास्थ्य कार्यालय प्रमुख सुवेदीको भनाई छ। यो कार्यक्रम हाल नेपालका १२ जिल्लामा सञ्चालन भइरहेको छ । जिल्लामा अहिले पहिलोपटक गर्भ जाँच गराउनेको संख्या ९१ प्रतिशत रहेको छ भने ४ पटक गर्भजाँच गराउनेको संख्या ४८ प्रतिशत रहेको छ । त्यस्तै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ५५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानले सुरु गरेको सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत पूर्ण गर्भ जाँच गर्ने र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा अभियानलाई पनि यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ।