काठमाडौं– स्वास्थ्य सेवा प्रदायक, स्वास्थ्य बीमा कम्पनी र सकारकारी स्वास्थ्य बीमाका पदाधिकारीबिच अन्तरक्रिया भएको छ । स्वास्थ्य बीमा अवको मुख्य आवश्यकता भएको महशुस गर्दै यसलाई व्यवस्थित गर्न हेल्थ कन्सर्नले ‘हस्पिटल–इन्स्योरेन्स मिट अप’ आयोजना गरेकोछ । शुक्रवार सम्पन्न कार्यक्रममा निजी क्षेत्रबाट सञ्चालित २९ अस्पताल, २० इन्स्योरेन्स कम्पनी, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको सहभागिता थियो।
स्वास्थ्य बीमामा बीमा कम्पनी, बीमितका साथै सेवा प्रदायक संस्था पनि हुने भएकाले बहश जरुरी भएको आयोजक हेल्थ कन्सर्नको निर्देशक डा सुवास प्याकुरेलले बताए । उनले भने, ‘उपभोक्ताहरु दुई सेवा प्रदायकसँग जोडिनुपर्ने भएकाले उनीहरु एक ठाउँमा आउन जरुरी छ । उनीहरुको आपसी सहकार्यबाटै मात्रै उपभोक्ताले सहज सेवा पाउँछन् । त्यसैले हामीले एक ठाउँमा ल्याएर छलफल गरेको हौं।’
स्वास्थ्य बीमा र उपचार दुवै नाफा भन्दा बढी सेवा दिनुपर्ने क्षेत्र भएकाले यस्तो खालको कार्यक्रम उपलब्धिमूलक हुने सहभागीहरुको धारणा थियो । नेपालको संविधानको धारा ५१ मा स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गरिएकाले बीमाको भूमिका महत्वपूर्ण हुने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा शुशिल प्याकुरेलले बताए । उनले भने, ‘सवै नैपाली नागरिकलाई कसरी स्वास्थ्य सेवाको पहुँचमा ल्याउने भन्ने कुरामा सरकार केन्द्रीत छ । बीमा कम्पनी र निजी क्षेत्रका स्वास्थ्य सेवाको भूमिका यो बेला महत्वपूर्ण हुन आउँछ।’
बिमा बिज्ञ भोजराज शर्माले स्वास्थ्य बीमाको आवश्यकता आज भन्दा ३० वर्षअघि नै महशुस गरिएको बताए । उनले भने, ‘स्वास्थ्य राज्यको दायित्व हो । सही बीमा भनेको ढुक्क हुनु हो । त्यसैले बीमा कम्पनी, सेवा प्रदायक अस्पताल र बीमकले यतातिर ध्यान दिनुपर्छ।’
भारतबाट कार्यक्रममा सहभागी हुन आएका सुजित चटौत साउदले स्वास्थ्य बीमा अहिलेको आवश्यकता रहेको भन्दै व्यवस्थित गर्नुपर्नेतर्फ औंल्याए । पछिल्ला दिनहरुमा भारतले यसबाट लाभ लिइरहेको बताउँदै नेपालले पनि यसतर्फ ध्यान दिुनुपर्ने धारणा राखे।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा मदन उपाध्यायले सरकारले स्वास्थ्य बीमा ४२ जिल्लामा पुर्याइसकेको जानकारी गराए । सेवाको पहुँच अभावका कारण बीमा नवीकरणमा समस्या देखिएको पनि बताए।
सहभागी नेपाल नेसनल अस्पतालका डा प्रकाश पौडेलले कार्यक्रमले आफू जस्ता नयाँ लगानीकर्तालाई हौस्याएको बताए । उनले भने, ‘स्वास्थ्य बीमाले हामी सेवा प्रदायकलाई पनि उपचार सेवा दिन सहज हुन सक्छ।’
सिद्धबाबा सुपरस्पेसियालिटी अस्पताल बुटवलका मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बीमाले दूरदराजमा स्वास्थ्य सेवा प्रदान गर्न हौस्याउने बताए । उनले भने, ‘आजको कार्यक्रपछि स्वास्थ्य बीमा व्यवस्थित हुँदा नयाँ र दूरदराजमा स्वास्थ्य सेवामा लगानी गरिरहेकालाई सहज हुने महशुस भयो।’
कार्यक्रमको सहजीकरण बीमा विज्ञ शेखर अर्यालले गरेका थिए ।