सुर्खेत – जन्मजात मुटुमा प्वाल भएकी वीरेन्द्रनगर ११ झुप्राखोलाकी ९ वर्षीया अञ्जली बादीको उपचार सफल भएको छ । आर्थिक अभावले उपचारमा समस्या भएकी बादीको उपचारमा विंग्स फाउन्डेसन सुर्खेत मार्फत् सहयोग प्राप्त भएपपछि अञ्जलीको उपचार हुन सकेको हो।
नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा गौतम र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतले फाउन्डेसनको माध्यामबाट सहयोग संकलन गरी अञ्जलीको उपचारमा सहयोग गरेका थिए।
फाउन्डेसनका क्रियाशिल सदस्य अहेब गौतम, स्टाफ नर्स बस्नेतले आफैंले केही र सामाजिक सञ्जालमार्फत् सहयोग संकलन गरी ५३ हजार ६ सय ७० रुपैयाँ संकलन गरी सहयोग गरेको गौतमले जानकारी दिएकी छन्।
फाउन्डेसनले उपचारका लागि आवश्यक रकम सहित अञ्जलीको गंगलाल अस्पताल काठमाडौंसँग समन्वय गरिएको थियो।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा अञ्जलीको उपचार हुन नसकेको थाहा पाएपछि उपचारमा लाग्ने सबै रकम बस्नेत र गौतमले जुटाएका थिए । फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक डा नवराज केसीले पनि अञ्जलीको जीवनरक्षाका भन्दै विषेश पहल गरेका थिए। डा केसीका अनुसार अञ्जलीलाई जन्मजात मुटुमा प्वाल हुने समस्या देर्खिको हो । मुुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया भएपछि अञ्जलिको ज्यान जोगिएको छ।
सरकारले यस्तो प्रकारको मुटु रोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न नसकेका अञ्जलीका बुबा घनश्याम बादीले विंग्स फाउन्डेसनका प्रतिमा र कल्पनाले सहयोगी हातहरु जुटाएर आफ्नी छोरीको ज्यान बचाएको भन्दै धन्यवाद व्यक्त गरे। उनले भने, ‘आफ्नै बहिनीलाई जस्तै गरी उहाँहरुले अञ्जलीको उपचारका लागि सहयोग गर्नुभएको छ । उहाँलाई धेरै–धेरै धन्यवाद।’ २०७१ सालदेखि समस्या देखिएपनि उपचारको अभावले घरमा थलिएकी नौं वर्षीय अञ्जली मुटुको अप्रेसन पछि विद्यालय जान थालेकी छिन्।