काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशक पद खाली छ। तत्कालिन निर्देशक डा दीपकप्रसाद महराले राजीनामा दिएको १० दिन बितिसक्दा पनि अस्पतालमा नयाँ निर्देशक नियुक्त भएको छैन।
डा महराको ४ बर्षे कार्यकाल सकिए पनि त्रिवि कार्यकारी परिषदले अर्को निर्देशक नियुक्त नभएसम्म तीन महिनाका लागि उनको पदावधी थपेको थियो। तर, उनले पदावधि थपिएको ५ हप्तापछि राजीनामा दिए। उनको राजीनामापछि अस्पतालमा नयाँ निर्देशक नियुक्ती हुनुपर्ने हो। तर, हुन सकिरहेको छैन।
निर्देशक नियुक्तीका लागि तीन सदस्यी सर्च कमिटी समेत बनाइएको छ। तर, समितिले दुर्इ महिना पुग्न लाग्दा समेत निर्देशकको नाम टंगो लगाउन सकेको छैन। सर्च कमिटीले काम ढिलो गर्दा अस्पतालमा निमित्तको जिम्मेवारी 4 फ्याकल्टीबाट सहायक डीन बनेकी मन्दिरा वन्तलार्इ दिइएको छ।
वरिष्ठ चिकित्सकहरुले यसको विरोध गरिरहेका छन्।
सर्च कमिटीका संयोजक आइओएम डीन प्राडा जगदीश अग्रवालले निर्देशक नियुक्तीका लागि निश्चित मापदण्ड बनाइएको बताए। उनले कमिटिका एक सदस्य बाहिर भएका कारण केही ढिला भएको जानकारी दिए।
अस्पतालको निमित्त निर्देशकमा दुर्इ जना डाक्टरको नाम चर्चामा छ। पहिलो नाम डा र्इश्वर लोहनी र दोस्रोमा डा योगेन्द्र प्रसाद (वार्इपि) सिंहको नाम चर्चामा छ।
डा लोहनीले यसअघि निमित्त निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। प्लाष्टिक सर्जन डा लोहनीले यसअघि निमित्तको राम्रो जिम्मेवारी सम्हालेको र विवादमा समेत नआएको भन्दै केही डाक्टर उनलार्इ नै निर्देशक बनाउनु पर्ने पक्षमा छन् भने डा सिंह पनि सक्षम र विवादमा नआएका भन्दै उनलार्इ जिम्मेवारी दिनुपर्ने पक्षमा पनि आवाज उठिरहेको छ।
तीन सदस्यी सर्च कमिटीले यी मात्र नभइ मापदण्डका आधारमा अरु कोही पनि निर्देशकमा आउन सक्ने बताइरहेका छन्। डा अग्रवाल संयोजक रहेको कमिटीमा डा जीवन शेरचन र डा रमेश भण्डारी सदस्य छन्।