राजविराज– नगरको स्वास्थ्य अवस्था सदृढीकरणका लागि वर्षौंदेखि निःशुल्क सेवा प्रदान गर्दै आएका स्वास्थ्य स्वयंसेवीकालाई राजविराजन नगरपालिकाले खाजा खर्च उपलब्ध गराउने भएको छ।
स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहन स्वरुप खाजा खर्च उलब्ध गराउन लागिएको मेयर शम्भुप्रसाद यादवले बताए। स्वयंसेविकालाई खाजा खर्च दिने व्यवस्थालाई ‘नगरपालिकाको नीति तथा कार्यक्रम’मा नै व्यवस्था गरिएको उनको भनाइ छ।
‘जसले नगरबासीको घर–घरमा पुगेर स्वास्थ्य सेवालाई प्रवद्र्धन गरिरहेका छन्, उनीहरुलाई कमसेकम भोको पेट नराखौं भन्ने उद्देश्य हो,’ यादवले भने, ‘उनीहरुको कामको मुल्यांकनभन्दा पनि कदर गर्ने नीतिलाई हामीले अगाडि बढाएका छौं।’
नगर क्षेत्रभित्र कार्यरत १ सय ३ जना स्वयंसेविकालाई मनासिव हुने गरी खाजा भत्ता दिने व्यवस्था मिलाइने उनले बताए।
यसैगरी, महिला स्वयंसेविका मार्फत सञ्चालन भइरहेको स्वास्थ्य सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।
‘सेवाको प्रकृतिका आधारमा स्वयंसेविकालाई तालिमको आयोजना गरिनेछ,’ मेयर यादव भन्छन्, ‘उनीहरुको सीप र कार्यदक्षता वृद्धि गरी नगरको स्वास्थ्य अवस्था अझ सुधार गर्दै लाने हाम्रो योजना हो।’
स्वयंसेविकाको काम र सेवाको मूल्यांकन गरी उत्कृष्ट काम गर्ने स्वयंसेविकालाई पुरस्कृत गर्ने नीति लागू गरिने मेयर यादबले जानकारी दिए।
यस्तै, नगरको स्वास्थ्य सेवा सुधारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सुदृढीकरणको विशेष पहल र त्यसका लागि अन्य स्थानीय तहसँग सहकार्य गर्ने, मातृ तथा शिशु मृत्यु दरलाई शून्यमा पु¥याउन सूक्ष्म पोषणका साथै स्वास्थ्य सम्बन्धी कार्यक्रममा विशेष जोड दिने, राजविराज नगरपालिकाको साविक १ देखि ८ नम्वर वडा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भइसकेकाले यसै आवमा बाँकी ८ वडालाई पनि पूर्ण खोपयुक्त घोषणाका लागि पहल गरिने मेयर यादले बताए।
नगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य केन्द्रको भौतिक सुधार गरी स्वास्थ्य सुविधालाई सहज र पहुँचयोेग्य बनाउन वडास्तरीय सहरी स्वास्थ्य केन्द्रहरु क्रमिक रुपमा विस्तार गर्ने र यस आवमा कम्तिमा एउटा बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने नगरपालिकाको योजना छ।
यादव भन्छन्, ‘स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य उपकरण थप गर्ने र व्यवस्थित गर्ने विषयमा पनि नगरपालिकाले गम्भीरता पूर्वक काम अघि बढाउनेछ।’