काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा गणेश गुरुङको कार्यकाल सकिन एक साता बाँकी छ। साउन २४ गतेदेखि उपकुलपति पद रिक्त हुने भएपछि उपकुलपति बन्न आकांक्षीहरुले लबिइङ थालेका छन्।
उपकुलपति बाहेक न्याम्सका अन्य पदाधिकारीको भने पदावधि पनि २६ गतेबाट सकिँदै छ। उपकुपतिसहित अन्य पदाधिकारीको दौडमा पनि चिकित्सकहरु लागेका छन्।
उपकुलपतिका लागि मात्रै ८ जना भन्दा बढी डाक्टरहरु लबिइङ छन्। उपकुलपति यसपटक न्याम्सभन्दा बाहिरबाट पनि बनाउन सकिने चर्चा समेत चलिरहेको छ। सहिद गंगालाल हृदय केन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भएर राम्रो नतिजा देखाएका डा भगवान कोइरालाको नाम पनि उपकुलपतिका लागि चर्चामा छ।
डा कोइरालालाई उपकुलपति बनाए न्याम्सको स्तरोन्नति हुने भन्दै धेरैले डा कोइरालाको नाम सिफारिस गरिरहेको बताइएको छ। यसको सुइँको पाएका न्याम्स अन्तर्गतका आकांक्षीहरु भने विरोध गरिरहेका छन्। उनीहरु बाहिरबाट न्याम्सको उपकुलपति बनाउन नहुने भन्दै डा भगवानको बाटो रोक्न खोजिरहेका छन्।
त्रिवि शिक्षण अस्पतालकै डा डिएन साहको नाम पनि उपकुलपतिको चर्चामा छ। आँखा रोग विशेषज्ञ डा साह स्वास्थ्यमन्त्री उपेन्द्र यादवको रोजाईमा परेका हुन्। तर, उनी पनि न्याम्स बाहिरको भन्दै विरोध भइरहेको छ।
उपकुलपतिको दौडमा रहेका अर्का व्यक्ति हुन्, डा श्रीकृष्ण गिरी। विगतमा न्याम्सको रेक्टार हुँदा विवादमा आएका र विद्यार्थीलाई आएको कोटामा आफैँ विदेशमा गएको भन्दै उनको चर्को आलोचना समेत भएको थियो। हाडजोर्नी विशेषज्ञ डा गिरी शिक्षा मन्त्री गिरिराजमणि पोखरेल मार्फत उपकुलपतिका लबिइङ गरिरहेका छन्।
हालका उपकुलपति डा गणेश गुरुङ पनि आफ्नो कार्यकाल पुनः दोहोर्याउने खेलमा लागेका छन्। हालकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई उनले यो विषयमा राजी समेत गराइसकेको कुरा बाहिर आइरहेको छ। तर, चार वर्षे कार्यकालमा अधिकांश समय विवादित बनेका डा गुरुङलाई उपकुलपति बनाउन नहुने पक्षमा न्याम्सकै कर्मचारी छन्। डा गुरुङको विवादित छवीका कारण उनलाई दोहोर्याउन नहुने पक्षमा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव समेत छन्। डा गुरुङको पालामा भएका अनियमितताका विषयमा अख्तियारले समेत छानबिन गरिरहेको उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ।
यसैगरी, न्याम्सका पूर्व डिन डा सिताराम चौधरी पनि उपकुलपतिको दौडमा छन्। डा चौधरी हालका स्वास्थ्यमन्त्री यादवको रोजाईमा रहेका व्यक्ति हुन्। मधेसी चिकित्सक संघ पनि ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा चौधरीलाई उपकुलपति बनाउने पक्षमा छ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरी आफूले भनेको व्यक्ति उपकुलपति हुनुपर्ने भन्दै एउटा नाम लिइरहेकी छिन्। उनी हुन् डा श्रवण कुमार चौधरी । उपकुलपति बनाउनु पर्ने भन्दै उनले मन्त्री यादव समक्ष नाम पठाएका चौधरी स्वास्थ्य सचिव पुष्पाका श्रीमान् हुन् । डा चौधरी वीर अस्पतालको निर्देशक समेत भइसकेका छन्। निर्देशक हुँदा उनका कामकारवाही विवादमा परेका थिए।
यसैगरी, वीर अस्पतालकै कलेजो रोग विशेषज्ञ डा अनिल मिश्र, पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्र पनि उपकुलपति बन्ने दौडमा छन्। डा प्रवीण सचिवको जिम्मेवारी राम्रोसँग सम्हाल्न नसकेकाे भन्दै आलोचित भएका थिए।