काठमाडौं- आयुर्वेद व्यवसायीहरुले औषधि व्यवस्था विभागले तयार पारेको कार्यविधि तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन ।
भारतबाट आयुर्वेद औषधि आयात गर्न रोक लगाउने व्यवस्थासहितको कार्यविधि विभागले तय गरेपछि तत्काल खारेज गर्न माग गर्दै आयूर्वेद व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन। बुधबार बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका उनीहरुले कार्यविधि तत्काल खारेज नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि विभागका पदाधिकारीहरुलाई दिएका छन्।
भारतबाट आयुर्वेद औंषधि नल्याए आफूहरुको व्यवसाय चौपट हुने अवस्था आउने भन्दै उक्त कार्यविधि खारेजीको माग लिएर आन्दोलन गर्नुपरेको नेपाल आयुर्वेद व्यवसायी संघका अध्यक्ष लोकेन्द्र चापागाईँले जानकारी दिए।
नेपाली बजारमा भारतीय कम्पनीबाट आयातित आयुर्वेद औषधिले ९० प्रतिशत हिस्सा ओगटेको छ । यस्तो अवस्थामा सरकारले आफूहरुको व्यवसाय नै समाप्त हुनेगरी बनाइएको कार्यविधि तत्काल खारेज गर्न माग गरिएको पनि संघको भनाई छ। संघले आयुर्वेद व्यवसायलाई नै समाप्त पार्ने काम सरकारबाटै हुन लागेकोमा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।
संघले सरकारले कार्यविधि बनाउँदा आफूहरुलाई बेवास्ता गरेको भन्दै आक्रोश पनि व्यक्त गरेको छ। नेपालमा हाल २६ वटा आयुर्वेद औषधि कम्पनी छ। ती कम्पनीहरुले नेपालको माग धान्न सक्ने गरी औषधि उत्पादन गर्न सक्ने भएपछि मात्रै भारतीय कम्पनीका औषधि आयात गर्न रोक लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।
आयुर्वेद व्यवसाय समाप्त पार्ने गरी बनाइएको कार्यविधि तत्काल खारेज नभए आयुर्वेद क्षेत्रमा कार्यरत चिकित्सक, व्यवसायी, बैद्य, कविराजहरु एकसाथ आन्दोलनमा आउन बाध्य हुने चेतावनी पनि दिइएको छ। संघका अध्यक्ष चापागाईँले आयुर्वेद औषधिलाई गुणस्तरीय बनाउन आफूहरु लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।