नेपालगन्ज– भेरी अञ्चल अस्पतालले नेपालगन्जले सिकलसेल एनिमियाका बिरामीहरुको रगत जाँच निःशुल्क गर्न सुरु गरेको छ।
पश्चिम नेपालका आदिबासी थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोग भए नभएको एकीन गर्नका बिरामीको रगतको हेमोग्वलोबिन इलेक्ट्रोफोसिस गर्दा लाग्ने शुल्क अस्पतालले नि:शुल्क गर्न थालेको हो।
यसअघि बिरामीले अस्पतालले रगतको हेमोग्वलोबिन इलेक्ट्रोफोसिस गर्दा एक हजार शुल्क लिँदै आएको थियो।
जनस्वास्थ्य कार्यालय बाँकेले हेमोग्वलोबिन इलेक्ट्रोफोसिस गर्दा आवश्यक पर्ने रि एजेन्ट (केमिकल) र एच बी ए टू कन्ट्रोलर नि:शुल्क उपलब्ध गराएपछि अस्पतालले पनि बिरामीहरुलाई नि:शुल्क सेवा दिन सुरु गरेको हो । साउनको दोस्रो सातादेखि अस्पतालले नि:शुल्क रगत परीक्षण सुरु गरेपछि ५१ जना बिरामीले नि:शुल्क रगत परीक्षण गराएका छन्।
थारु समुदायका गरिब तथा बिपन्न परिवारका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले रगत परिक्षण पनि निःशुल्क गरिएको हो।
गरिबीका कारण थारू समुदायका धेरै बिरामीले परीक्षण गराउन नसकेको अवस्थामा अस्पतालले रगत परिक्षण पनि नि:शुल्क गरेका कारण बिरामीहरु लाभान्वित भएका छन्।
सिकलसेल एनिमियाका पश्चिम नेपालका आदीबासी थारुहरुमा मात्र देखिएको वंशाणुगत रोग हो । यो रोग लागेका बिरामीहरुमा हातखुट्टा र शरीरका जोर्नीहरु दुख्ने, रगतको कमी हुने जस्ता लक्षण देखिन्छन्। सिकलसेल एनिमिया रोग भए/नभएको एकिन गर्नका लागि रगत परिक्षण गर्नु पर्छ । यस भन्दा पहिले रगत परीक्षण गर्दा लाग्ने शुल्क बिरामीले आफैँ तिर्दै आएका थिए।
सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएपछि मात्रै भेरी अञ्चल अस्पातल लगायत सरकारी अस्पतालहरुमा स्वास्थ्य परीक्षण तथा औषधि खरिद गर्दा प्रति बिरामी १ लाख रुपैयाँ बराबरको उपलब्ध गराउँदै आएको भेरी अञ्चल अस्पतालका प्रमुख कल्सल्टेन्ट फिजिसियन डा राजन पान्डेले बताए ।
नेपालगन्जको भेरी अञ्चल अस्पतालबाट हालसम्म करिब ६ सय बिरामीले उपचार सेवा पाइसकेका छन्।