काठमाडौं– युनिसेफ र 11 संगठनले गरेको एक नयाँ प्रतिवेदनले नेपालमा ५५ प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने बताएको छ। नवजात शिशुहरुलाई स्तनपान निकै महत्वपूर्ण मानिन्छ। जन्मेको एक घण्टाभित्रै स्तनपान गराइएका शिशुहरुमा रोग र मृत्युको जोखिम कम हुने गर्छ।
अध्ययन अनुसार संसारभर ७ करोड ८० लाख शिशुहरु जन्मेको एक घण्टाभित्र स्तनपान गराइँदैनन्। यो संख्या पाँचमध्ये तीन शिशुको संख्या हो। स्तनपान नगराइने धेरै शिशुहरु निम्न र मध्यम आय भएका देशहरुका छन्।
प्रतिवेदनले जन्मेको एक घण्टामा स्तनपान गराइएका नवजात शिशुहरु जीवित रहने सम्भावना धेरै हुने देखाएको छ। जन्मेको एक घण्टाभित्र स्तनपान नगराएमा जोखिम बढ्न सक्ने हुन्छ।
जन्मेको एक घण्टाभित्र विगौती दूध खुवाउनाले शरीरमा पोषण पुग्नुका साथै शरीरको प्रतिरक्षा प्रणालीमा सघाउन पुग्ने हुनाले यसलाई शिशुको ‘पहिलो खोप’ को रुपमा पनि लिइन्छ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच फोरले ‘अझै पनि हरेक वर्ष लाखौं नवजात शिशुहरु प्रारम्भिक स्तनपानको फाइदाबाट बञ्चित हुने बताउँदै आमाहरुले शिशु जन्मेपछिका केही महत्वपूर्ण मिनेटहरुमा स्तनपानका लागि चाहिने पर्याप्त सहयोग प्राप्त गर्दैनन्। उनी भन्छन् ‘कतिपय अवस्थामा स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुले पनि नयाँ आमाहरुलाई सहयोग गरेको पाइँदैन।’

प्रतिवेदनका अनुसार शिशु जन्मेको एक घण्टामा स्तनपान गराउने दर पूर्वी तथा दक्षिणी अफ्रिकामा सबैभन्दा धेरै अर्थात ६५ प्रतिशत रहेको छ भने पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा सबैभन्दा कम ३२ प्रतिशत रहेको छ।
बुरुण्डी, श्रीलंका र भेनुआतुमा १० जना शिशुमा ९ जनाले पहिलो एक घण्टाभित्र स्तनपान गर्न पाउँछन् भने अजरबैजान, चाड र मोन्टिनिग्रोमा जन्मिने १० जना शिशुमा २ जनाले मात्र पहिलो एक घण्टाभित्र स्तनपान गर्न पाउँछन्।
नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, जन्मेको पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं. ७ मा सबैभन्दा धेरै (७०.७ प्रतिशत) छ भने प्रदेश नं. २ मा सबैभन्दा कम छ (४५.३ प्रतिशत) छ।
त्यसैगरी स्तनपान गराउनु अघि १० जना नवजात शिशुहरुमध्ये ३ जना शिशुहरुलाई लाई घ्यू,मह, चिनी चटाउने गरेको पाइएको छ जुन प्रदेश नं. २ मा लगभग आधा लाई यस्तो खानेकुरा खुवाइएको छ। यो प्रदेश नं. ७ मा जन्मिएका शिशुहरुको तुलनामा ६ गुणाले बढी हो।

यसै सेरोफेरोमा रहेर क्याप्चर दी मोमेन्ट नामको प्रतिवेदनले ७६ वटा देशहरुको तथ्यांक विश्लेषण गरेको छ।
जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण भएपनि, धेरै नवजात शिशुहरु विभिन्न कारणले गर्दा स्तनपानको लागि लामो समय प्रतिक्षा गर्न बाध्य छन् जसका कारणहरु यसप्रकारका रहेका छन्ः
- नवजात शिशुहरुलाई फर्मुलालगायत खान वा पेय पदार्थ खुवाउनेःविगौती दूध फाल्ने, शिशुलाई मह चटाउने वा स्वास्थ्यकर्मीहरुले नवजात शिशुहरुलाई चिनी पानी वा फर्मुलाजस्ता तरल पदार्थ खुवाउने अभ्यासले गर्दा शिशुलाई उनको आमासँग पहिलो महत्वपूर्ण सम्पर्कबाट ढिलाइ हुनपुग्दछ।
- सी–सेक्सन (शल्यक्रिया) बाट बच्चा जन्माउने छनोटः नेपालमा सन् २०११ देखि २०१६ सम्म पाँच वर्षको अवधिमा शल्यक्रियाबाट बच्चा जन्माउने दर झण्डै दुई गुणाले बढेको छ। इो ४.६ प्रतिशतबाट ९ प्रतिशतमा पुगेको छ। सी–सेक्सनबाट जन्मिएका शिशुहरुमध्ये एक तिहाईभन्दा कम शिशुहरुलाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको अध्ययनमा उल्लेख छ। सामान्य प्रसूतिबाट जन्मिएका शिशुमा यो संख्या करीव दुई तिहाइ छ।
- आमा र नवजात शिशुलाई दिइने हेरचाहको गुणस्तरमा कमजोरीः प्रतिवेदनका अनुसार, दक्ष प्रसूतिकर्मीहरुको उपस्थितिमा मात्र बच्चा जन्माउनाले जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दरमा खासै प्रभाव पारेको छैन। सन् २००६ देखि सन् २०१६ सम्म दश वर्षको अवधिमा नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको क्रम ३९ प्रतिशत अंकले (१८ बाट ५५ प्रतिशत) बढेको छ तर एक घण्टाभित्रै स्तनपान गराउने दर भने २० प्रतिशत अंकले (३५ बाट ५५ प्रतिशत) मात्र बढेको छ। धेरै अवस्थामा, शिशुहरुलाई जन्मनासाथ आमाहरुबाट टाढा राखिन्छ र स्वास्थ्यकर्मीको सल्लाह निकै सिमित रहेको अवस्था छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार,अघिल्ला अध्ययनहरुले जन्मेको एक घण्टाभित्र स्तनपान गराउन शुरु गरिएका शिशुहरुको तुलनामा जन्मेको दुईदेखि २३ घण्टाभित्र स्तनपान गराएका शिशुहरुले ज्यान गुमाउने जोखिम ३३ प्रतिशतले बढी हुने देखाएका छन्। एक दिन वा त्योभन्दा पछि स्तनपान गराउन शुरु गराइएका नवजात शिशुमा यो जोखिम दुई गुणा बढी हुने गर्दछ।
नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्य राखेको छ।

इन्फोग्राफिक्स: युनिसेफ