नेपालगञ्ज – भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मुटु रोगको उपचारका लागि सुरु भएको क्याथ ल्याब सेवा बजेट अभावका कारण प्रभावित भएको छ।
क्याथल्याब सेवा सञ्चालनका लागि अर्थ मन्त्रालयले भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको बजेट चालु आर्थिक वर्ष २०७५/०७६ मा रोकिएका कारण क्याथल्याब सेवा सञ्चालनमा कठिनाई भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।
भेरी अञ्चल अस्पतालले काठमाडौस्थित गंगालाल अस्पतालसंग सहकार्य गरेर गत वर्ष क्याथ ल्याब जडान गरी मुटुका बिरामीहरुको एन्जियोग्राफी र अस्थायी पेश मेकर जडान गर्ने लगायतका उपचार सेवा संचालन गर्दै आएको छ।
अस्पतालका प्रमुख कार्डियोलोजिष्ट कन्सल्टेन्ट कृष्ण अधिकारीको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीहरुको टिमले मुटुका बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएका छन्।
स्बास्थ्य मन्त्रालयले बजेट रोकिदिएका कारण मुटुरोग उपचारमा संलग्न एक जना कार्डियोलोजिष्ट डाक्टर रेडियोग्राफर, स्टाफ नर्स सहित १४ जना स्वास्थ्यकर्मीलाई तलब भत्ता उपलब्ध गराउन समेत समस्या परेको डा थापाले बताए।
क्याथल्याब मार्फत मुटुरोगको उपचार सेवा सञ्चालनका लागि अर्थ मन्त्रालयले चार वर्षसम्म वार्षिक एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरे पनि दोस्रो वर्षमै बजेट रोकिएको हो।
क्याथल्याब जडान भई मुटुका बिरामीहरुमा बिरामीहरुमा एन्जियोग्राफी र अस्थायी पेश मेकर जडान गर्ने लगायतका उपचार सेवा अगाडि बढिरहेका बेला बजेट रोकिएपछि अन्यौलता उत्पन्न भएको डा थापाले बताए।
अस्पतालमा आउने अधिकांस बिरामी गरिब तथा बिपन्न परिवारका हुन्छन्। अस्पतालको सेवा प्रभावित हुँदा गरिब तथा बिपन्न परिवारका बिरामीहरु बढी प्रभावित हुने मुटुरोग बिशेषज्ञ डा बिपिन आचार्यले बताए।
मुटु रोगको उपचारका लागि गत वर्षदेखि नै निकासा हुँदै आएको बजेट रोकिएपछि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरिएको डा थापाले बताए । उनका अनुसार भुलबस मुटुरोग उपचार शीर्षकको बजेट छुटेको जनाउँदै चाँडै निकासा हुने आश्वासन पाएको उनले बताए।
अस्पतालमा पछिल्ला दिनमा दैनिक २० देखि २५ जना मुटु रोगका बिरामीहरु उपचारका लागि आउने गरेका छन्।
उपचारका लागि आउने मुटुका बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसँग सम्बन्धित रहेको अस्पतालले जनाएको छ । यस्तै जन्मजात मुटुको समस्या भएका, मुटुको चाल गडबडी भएका मुटुको वरिपरि पानी जमेका र मुटुको बाथ सम्बन्धी समस्या भएकाहरू उपचारका लागि आउने गरेको बताइएको छ।