प्यूठान– आर्थिक अभावका कारण उपचार अभावमा प्यूठान नगरपालिका ८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश बिश्वकर्मा छटपट्टीमा बाँच्न बाध्य छन्। घाउले पुरै शरिर ढाकेको छ। दुखाईले शिशु रुने र छट्पटीने गरेका छन्।
गत बैशाखमै यस्तो समस्या देखा परेपछि अस्पताल लिएर उपचार गर्न आएता पनि डाक्टरहरुले बाहिर लैजान सुझाव दिएको आमा सिता विश्वकर्मा बताउँछिन्। छोरालाई सुमसुमाउँदै आमा सिताले भनिन् ध‘डाक्टरले बाहिर लगेर उपचार गर्न भन्नुभाथ्यो तर पैसा भएन घर लगेँ । अहिले झन् धेररै घाउ भए।’
घरेलु उपचार गरे पनि दिनप्रतिदिन समस्या बढ्दै गएपछि बिहिबार आमा सीताले उपचारका लागि प्यूठान अस्पताल ल्याएको बताइन्। जिल्लामै पूर्ण निको हुन नसक्ने चिकित्सकको सल्लाहपछि कसरी लैजाने भन्ने पीरमा सीता छिन् । त्यसैले छोराको उपचारमा सहयोग गर्न आग्रह गरिरहेकी छिन्।
छाला सम्बन्धि समस्या अन्य संक्रमण कारण पनि भए हुन सक्ने भएकाले प्यूठान अस्पतालका मेडिकल सुरिटेन्डेट डा. अच्युतराज कार्कीले जिल्लामा उपचार सेवा नभएकाले बाहिर लैजान सिफारिस गरेको बताउँछन्।
आर्थिक अभावले उपचार गराउन नसकेर पिडामा बाँच्न बाध्य शिशुको उपचारका लागि डा. कार्कीले आफ्नो ब्यक्तिगत रु सात हजार सहयोग समेत गरेका छन्। उनले शिशुको उपचारको लागि सक्दो सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन्। शिशुको अहिले आम्दा अस्पताल बुटवलमा उपचार भैरहेको डा. कार्कीले बताए। उनलाई गएराति ११ बजे जिल्ला अस्पतालमा सामान्य उपचार पछि रिफर गरिएको हो।