काठमाडौं- २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौंको त्रिभुवन-चन्द्र मिलिटरी अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालको नवनिर्मित भवनको शुक्रबार एक समारोहकाबीच उद्घाटन गरे। प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपाली वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको थियो।
सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्माण गरिएको सो अस्पतालको भवन २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि उपचार सेवा प्रभावित हुँदै आएको थियो।

प्रधानसेनापति क्षेत्रीले अस्पतालको सेवा सञ्चालनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको चापलाई कम गर्नुको साथै बहालवाला, भूपु सैनिक र तीनका आश्रित परिवारले आफूलाई पायक पर्ने स्थानबाट स्वास्थ्य सेवा लिन सक्ने सुविधा प्राप्त भएको बताए। उनले पुनर्निर्माणका क्रममा अस्पतालको ऐतिहासिक महत्व कायम गरिएको बताए।
अस्पतालले सुरुको केही समय बाल, दन्त, फिजियोथेरापी लगायतका सेवा मात्रै उपलब्ध गराउने र पछि सेवा विस्तार गर्दै जाने जनाएको छ।