वीरगंज- नारायणी उपक्षेत्रीय अस्पतालमा दुई महिने गर्भवती महिलाको मृत्यु भएको छ । पेट दुखेर शुक्रबार बेलुका ७ बजे भर्ना भएकी बारा, जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। देवीको शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
नारायणी उपक्षेत्रीय अस्पतालमा चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भन्दै परिवारजनले विरोध प्रदर्शन समेत गरका छन्।
पेट दुखेर अस्पताल आएकी उनी औषधि उपचारपछि राति सञ्चो भएको तर बिहान ५ बजे फेरि पेट दुखको आफन्तले जनाएका छन्। आफन्तका अनुसार अस्पतालको इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका अहेवले सुई लगाएपछि रमिताको मुखबाट र्याल र फिज आएको थियो ।
परिवारजनले रमिताको उपचारमा लापरबाही गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीको माग गरेका छन् । यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकसँग बुझ्दा सो समयमा ईमरजेन्सी वार्डमा डा.कृष्ण अधिकारी, अहेब सुरेश गुप्ता र जयराम महतो रहेको बताए । उनले परिवारजनको बिरोध पछि डा. सुरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको जानकारी दिए।
छानविन समितिमा बारा परवानिपुर गाउँपालिकाका अध्यक्ष हरि नारायाण साह, डा.उदय नारायण सिंह, समाजसेवी निजामुद्धिन समानी, पिडित पक्षबाट दिपक साह कानु, मानव अधिकारकर्मी कृष्णा कुमार खनाल रहेका छन्। पिडित पक्षले उपचारको क्रममा लापरवाही गर्ने डाक्टर र स्वास्थ्यकर्मीलार्इ कारबाहीका साथै उचित क्षतिपुर्तीको समेत माग गरेका छन्।