काठमाडौं- नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले ६ बुँदे माग राख्दै सरकारलार्इ ७२ घण्टे अल्टिमेटम दिएको छ। एसाेसिएशनले माग पुरा नभए कडा अान्दोलनको चेतावनी पनि दिएको छ।
एशोसिएशनका अध्यक्ष नविन यादवले बंगलादेशको मेडिकल शिक्षाका विषयमा उठेका विषयमा सरकारको आधिकारिक धारणा आउनु पर्ने लगायतका माग राखेर अल्टिमेटम दिएको बताए।
यस्ता छन् ६ बुँदे माग
१.बंगलादेश लगायत विदेशका कलेजहरूमा अध्ययनरत ८ हजार विद्यार्थीहरूको पठन पाठनका विषयमा नेपाल सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गरियोस्।
२.शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएर विदेशका विभिन्न कालो सूचीमा परेका कलेजहरूमा पढ्दै गरेका नेपाली विद्यार्थीहरूलाई नेपाल कै मेडिकल कलेजहरूमा स्थानान्तरण गरियोस्।
३.विदेशका कलेजमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको इन्टरसीपको व्यवस्था नेपालकै मेडिकल कलेजहरूमा गरियोस्।
४.नेपाली विद्यार्थीहरूलाई सहयोगका नाममा ठगी गर्ने, झुक्याउने एवं बंगलादेश, चीन, रसिया, फिलिपिन्स पठाउने कन्सल्टेन्सीहरूमाथि छानबिन गरी तत्काल मुद्दा चलाइयोस्।
५. विदेशिन बाध्य भएका केही निर्दोष नेपाली विद्यार्थीहरूको विभिन्न समस्या एवं केही समय यता भएको नेपाली विद्यार्थीहरूको आत्महत्याका विषयमा नेपाल सरकारले न्यायिक छानबिन टोली गठन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइयोस्।
६. सरकारले कम्तिमा पनि सम्पूर्ण मेडिकल कलेजमा विशेषज्ञता तह मा १५ सय भन्दा बढी एमडी/एमएस/एमडिएस मा सिट निर्धारण गरियोस्।