नेपालगन्ज – बाँकेमा करिब २५ प्रतिशत महिलाहरु घरमै सुत्केरी हुने गरेका छन्।
नेपाल सरकारले नियमित रुपमा गभवबती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरुलाई आर्थिक अनुदानदेखि बिभिन्न सहयोगका कार्यक्रमहरु ल्याएपनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन ।
गर्भवती महिलाहरुलाई उनीहरुले गाउँनजिकैबाट चेकजाँच र सुत्ेकेरी सेवा लिन सकुन् भनेर जनस्वास्थ्य कार्यालय बाँकेले जिल्लाका ग्रामिण क्षेत्रमा रहेका ३४ वटा स्वास्थ्य संस्था र शहरी क्षेत्रमा रहेका ३ वटा ठूला अस्पतालहरुमा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ।
ग्रामिण क्षेत्रमै चेकँजाच तथा सुत्केरी सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरु चेकजाँचका लागिस्वास्थ्य संस्थाहरु आउने क्रम केही बढेपनि अझै एक चौथाई स्वास्थ्य संस्थाको पहँुच बाहिर रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मातृशिशु शाखा अधिकृत वसन्त गैरेले बताए।
नेपाल सरकारले चालु आर्थिक बर्षदेखि गर्भवती चेकजाँचका लागि नियमित रुपमा ४ पटक स्बास्थ्य संस्थामा आउने महिलालाई ८ सय र प्रसुती सेवा लिन स्वास्थ्य संस्थामा आए बापत यातायत खर्च स्वरुप एकहजार उपलब्ध गराउन सुरु गरेको छ।
गाउमै रहेका स्वास्थ्य संस्थामा प्रसुती हुने गर्भवती महिला र शिशुलाई करिब एक हजार मूल्य बराबरको न्यानो कपडा सेट समेत उपलब्ध गराउँदै आएको छ । गाउँमा रहेका स्वास्थ्य संस्थामा आउने महिलाको संख्या बढाउन न्यानो कपडा सेट गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवाका लगि आउने महिलालाई मात्रै दिइने गरिएको छ । गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गराए पनि सुत्केरी हुन भने अधिकाश महिलाहरु ठूला अस्पतालमै आउने गरेका छन्।
जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको संख्या निकै कम र ठूला अस्पतालमा प्रसुती सेवा लिनेको संख्या निकै धेरै छ।
नेपालगन्जको भेरी अञ्चल अस्पतालमा दैनिक करिब १३ जना महिला प्रसूति सेवाका लागि आउने गरेका छन्।
त्यसैगरी मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा दैनिक ११ र नेपालगन्ज अस्पतालमा दैनिक प्रसूति सेवाका लागि ७ जना आउने गरेका छन्।
ग्रामिण क्षेत्रमा रहेका ३४ वटा स्वास्थ्य संस्थामा दैनिक ११ जना महिलाले प्रसूति सेवा लिने गरेका छन्।
स्वास्थ्य अवस्था सामान्य भएका गर्भवतीहरु ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्था अर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिन सक्ने ब्यबस्था मिलाइएको छ।
सबै स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसूति सेवाका लागि २४ सै घन्टा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको ब्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुबै सुरक्षित हुन सक्छन्। स्वास्थ्य अवस्था गम्भिर भएकाहरुलाई स्वास्थ्य संस्थाहरुले नै ठूला अस्पतालमा रिफर गरि दिने गरि ब्यबस्था मिलाइएको भए पनि अधिकाश गर्भवती महिला प्रसुती सेवाका लागि ठूला अस्पतालमा आउन रुचाउने भएकाले ठूला अस्पतालमा अत्याधिक चाप र ग्रामिण स्वास्थ्य संस्थामा न्युन चाप हुँदा प्रसुती सेवा सेवालाई प्रभावकारी बनाउन मुश्किल परिरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
अप्रेशन गरेर सहज रुपमा बच्चा जन्माउन चाहने महिलाहरुको संख्या पनि पछिल्ला वर्षहरुमा बढ्दै गएको छ।
नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी हुने महिला मध्ये २२ प्रतिशत र नेपालगन्ज अस्पतालमा १५ प्रतिशत महिलाले अप्रेसन मार्फत प्रसुति सेवा लिने गरेका छन्। भेरी अञ्चल अस्पतालमा करिब ११ प्रतिशत रहेको छ।
बाँके जिल्लामा वर्षेनी करिब १२ हजार ४ सय ७२ महिलाहरु सुत्केरी हुने अनुमान गरिएको छ।
नेपालगन्ज तथा कोहलपुरका ठूला अस्पतालहरुमा छिमेकी जिल्लाहरुबाट समेत प्रसूति सेवाका लागि गर्भवती महिलाहरु आउने भएकाले अस्पतालहरुमा प्रसूति सेवा लिने महिलाको संख्या जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अनुमान गरेको भन्दा बढी हुने गरेको अधिकृत गैरेले बताए।