भैरहवा- भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा विद्यार्थीहरुको आन्दोलनका कारण भएको घटनाको छानबिन हुने भएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले मेडिकल कलेजमा तोडफोड तथा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। कलेजको बिडिएस चौथो वर्षमा अध्यनरत जनकपुरका २२ वर्षीय महादेव शाहको उपचारको क्रममा मृत्यु भएपछि कलेजका विद्यार्थीहरुले अस्पताल तोडफोड गरेका थिए। उनीहरुले अस्पतालको अति संवेदनशिल इकाइ आइसियू, सिसियू लगायतका अन्य क्षेत्रमा तोडफोड गरेका थिए।
घटनाको समाचार संकलनको लागि अस्पताल पुगेका सञ्चारकर्मीलाई समेत विद्यार्थीहरुले आक्रमण गर्नुका साथै क्यामरा तोडफोड समेत गरेका थिए। उनीहरुले एपीवान टेलिभजन र इमेज टिभीको क्यामरा तोडफोड गरेका थिए। अन्नपूर्णकर्मीले खिचेको तस्बिर समेत विद्यार्थीहरुले डिलिट गरेका थिए।
पत्रकारमाथि आक्रमण र तोडफोडको विषयलाई गम्भिर रुपमा लिएर छानबिन समिती गठन गरी दोषीलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, लुम्बिनी प्रेस क्लबले जिल्ला प्रशसान कार्यालयमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकरी उदय बहादुर रानाले घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिने बताए।
प्रशसानले घटनाको सत्यतथ्य छानबिनको लागि जिल्ला प्रशसान कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन गरेको छ। समितिको सदस्यमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश जोशी र मेडिकल कलेजको जनसम्पर्क अधिकृत सुशिल गुरुङ रहेका छन । समितीलाई घटनाको छानबिन गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
यता अस्पताल प्रशसानले पनि घटनाको छानबिनको लागि डा मनोहर जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती गठन गरेको छ। आइतबार उपचारका क्रममा मृत्यु भएका महादेव शाहको शव परिवारले बुझेको अस्पतालले जनाएको छ। मृतक परिवारको तर्फबाट क्षतिपूर्ति माग भएपनि घटनाको छानबिन नहुँदासम्म केही गर्न नसकिने अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए।