काठमाडौं– चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकले उक्त समितिमा विधेयक पठाउने निर्णय गरेको थियो । समितिको पहिलो वैठकले उक्त विधेयक स्वीकार गरेको छ ।
सोमबार सिंहदरबारमा जेष्ठ सदस्य मानवहादुर विकको नेतृत्वमा वसेको बैठकले उक्त विधेयक स्वीकार गरेको हो ।
बैठकले विधेयक माथिको छलफल बारे भने हाल कुनै निर्णय नगरेको सभापति विकले बताए । ‘भर्खर विधेयक प्राप्त भएकाले स्वीकार गरियो तर कहिले देखि छलफल थाल्ने कुनै निर्णय भएन ’ जेष्ठ सदस्य मानबहादुर विकले भने ‘अर्को वैठकले यस बारे निर्णय लिन्छ ।’
समितिको सभापति चयनको प्रक्रिया शुरु भएमा विधेयकमाथिको छलफल ढिलो हुने नत्र अर्को बैठकवाट हुने समितिका सचिव जीवराज वुढाथोकीले बताए ।
पहिलो बैठक बसेर औपचारीक रुपमा समितिको काममात्र शुरु गरेको उनले बताए ।
समिति २४ सदस्यीय छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । जसअनुसार समितिमा तीन जना पूर्व स्वास्थ्यमन्त्री छन्।
समितिमा पूर्व स्वास्थ्यमन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा छन्। यस्तै हालै मात्र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका डा सुरेन्द्र यादव पनि छन्। समितिमा योगेश भट्टरार्इ, नविना लामा पनि सदस्य छन्।