नेपालगन्ज- बाँकेका करिब ५० प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या देखिएको छ।
गर्भवती अवस्थामा नियमित रुपमा चेक जाँच नगराउने, पोषिलो खानेकुरा नखाने, स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण गरिने आइरन तथा जुकाको औषधी नखाने महिलाहरुमा रक्तअल्पताको समस्या बढी देखिने गरेको भेरी अञ्चल अस्पताल नेपालगन्जका स्त्री रोग बिशेषज्ञ डा कुमार शाहले बताए।
सामान्यतया गर्भवती महिलामा हेमोग्लोविन ११ देखि १४ सम्म हुनु पर्छ। तर, अस्पतालमा सुत्केरी हुन आउने महिलामा करिब ५० प्रतिशतमा हेमोग्लोविन ११ भन्दा कम हुने गरेको डा शाह बताउँछन्।
अस्पतालमा सुत्केरी हुन आउने गरिब तथा विपन्न समुदायका अधिकांस महिलाहरुमा हेमोग्लोविन ८ देखि १० सम्म हुन्छ। सुत्केरी हुन अस्पातलमा आउने महिलामध्ये करिब ५ प्रतिशतमा कडा रक्तअल्पता देखिएको उनले बताए।
गर्भवती अवस्थामा कुनै पनि स्वास्थ्य संस्थामा एक पटक पनि चेक जाँच नै नगराई व्यथा लागेपछि सिधै अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुको संख्या पनि ८ देखि १० प्रतिशतसम्म रहेको उनले जानकारी दिए।
नेपाल सरकारले मातृशिशु मृत्यु घटाउन बाँकेको कोहलपुर र नेपालगन्जका तीन वटा ठुला अस्पताल र ग्रामिण क्षेत्रमा रहेका ३४ वटा स्वास्थ्य संस्थाहरुमा निःशुल्क गर्भवती चेक र २४ घन्टे सुत्केरी सेवा संचालनमा छ ।
तर, जनचेतनाको कमी तथा हेलचक्राईंका कारण स्वास्थ्य संस्थाहरुमा आउनेको संख्यामा सुधार हुन सकेको छैन। अझै पनि करिब २५ प्रतिश महिला घरमै सुत्केरी हुने गरेका छन्। जसका कारण सुत्केरी हुने क्रममा महिला र शिशुको मृत्यु हुने देखि गम्भिर किसिमको स्वास्थ्य समस्या आउने गरेको छ।
सरकारले नियमित रुपमा गर्भवती जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १ हजार ८ सय रुपैयाँ दिदै आएको छ।
पछिल्ला वर्षहरुमा सुत्केरी हुने क्रममा मातृ मृत्युदर घट्दै गए पनि संख्याका हिसाबमा अझै पनि धेरैको मृत्यु हुने गरेको छ।
गर्भवती अवस्थामा नियमित रुपमा चेक जाँच गराउने, पोषिलो खानेकुरा खाने, स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा वितरण गरिने आइरन तथा जुकाको औषधी खुवाउने र सुत्केरी व्यथा लाग्ना साथ स्वास्थ्य संस्थामा लैजान सके मातृ मुत्युदर घटाउन सकिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
मातृ शिशु मृत्यु घटाउन दुर्गम क्षेत्रका गर्भवतीलाई अस्पतालमा पु¥याउन सहज होस भनेर एम्बुलेन्स सेवा समेत संचालन गरिएको छ। यसका साथै स्वास्थ्य संस्थामा आउने संख्या बढाउन सुत्केरी र नवजात शिशुलाई न्यानो कपडा पनि वितरण हुँदै आएको छ।
गरिब तथा विपन्न महिलाहरुसंग न्यानो र सफा कपडा नहुँदा नवजात शिशु तथा आमामा संक्रमणका कारण मृत्यु हुने खतरा बढी रहेको भन्दै सरकारले न्यानो कपडा वितरण कार्यक्रम ल्याएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मातृ शिशु शाखाका अधिकृत बसन्त गैरेले बताए।
बाँकेमा सुत्केरी आमाको मृत्यु
२०६६/०६७ २७
२०६७/०६८ २३
२०६८/०६९ २२
२०६९/०७० १८
२०७०/०७१ २२
२०७१/०७२ १८
२०७२/०७३ १४
२०७३/०७४ १६
२०७४/०७५ ८