डडेल्धुरा – प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा डाक्टर अभाव कायमै छ । अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट र १८ जना मेडिकल अधिकृतको दरबन्दी छ तर कन्सलटेन्ट डाक्टर एकजना पनि छैनन् भने ६ जना मात्र मेडिकल अधिकृत कार्यरत छन्। दरबन्दी अनुसार कर्मचारी नभएको अस्पतालले अपेक्षित सेवा दिन नसकेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
सय सैयाको उपक्षेत्रीय अस्पतालमा अहिले विभिन्न तहका गरी जम्मा १ सय २७ जना कर्मचारी कार्यरत रहेको बताइएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएका कारण उपक्षेत्रीय अस्पतालको उपचार गुणस्तरीय नभएको सरोकारवालाहरुको ठम्याइ छ । कर्मचारी अभावकै कारण रातीको समयमा इमरजेन्सी तथा अन्य वार्डमा कुनै पनि कर्मचारी नरहेने गरेको अमरगढी नगरपालीका ५ का वडा अध्यक्ष खेमराज पाठकले आरोप लगाएका छन्।
डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य ६ जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन् । अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । गरिब तथा विपन्न परिवारका लागि खेलिएको सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण आवश्यकता अनुसारको सेवा पाउन नसक्दा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताले सेवाग्राहीहरु मर्कामा परेका छन्।
वार्षिक प्रतिवेदन अनुसार अस्तालमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धी भएको देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा उपक्षेत्रीय अस्पतालमा २० बर्ष मुनीका महिलाले गर्भपतन गराउनेको संख्यामा वृृद्धी भएको छ । आर्थिक वर्ष ०७२७३ मा उक्त संख्या १ सय ३०, त्यसैगरी आर्थिक वर्ष ०७३७४ मा २ सय ३ रहेको र यो वर्ष उक्त संख्या बढेर २ सय ५९ पुगेको तथ्याङ्कमा उल्लेख छ ।