काठमाडौँ– उपप्रधान एवं स्वास्थय तथा जनासंख्या मन्त्री उपेन्द्र यादवले अनुसन्धानमा आधारित नीति निमार्ण हुन जरुरी भएको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जीआइजेड नेपालको सहयोग र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एकदिने गोष्ठीमा मन्त्री यादवले यस्तो बताएका हुन्।
उनले भने, ‘जनताको आधारभुत आवश्यकताको रुपमा रहेको स्वास्थ्यको अधिकारलाई प्रभावकारी रुपमा प्रत्याभुत गर्नका लागि अनुसन्धानमा आधारित नीति निमार्ण हुन जरुरी छ।’
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले देश संघीय संरचनामा गइसकेकाले अबका कार्यक्र तय गर्न र नयाँ नीति बनाउन अनुसन्धानबाट आएका तथ्यांकले सहयोग पुग्ने बताए । उनले भने, ‘राष्ट्रिय रुपमा उपलब्ध अनुसन्धानलाई राष्ट्रि तहको दृष्टिकोण बनाउन प्रयोग गरेजस्तै हरेक प्रदेश र स्थानीय सरकारले समेत आ–आफ्नो परिवेश र आवश्यकताका आधारमा वैज्ञानिक अनुसन्धान गर्ने र ती तथ्यमा टेकेर नै योजना तथा कार्यक्रम बनाउानुपर्छ।’
कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्वास्थ्य नीति र कार्यक्रममा तथ्यको प्रयोग गर्नका लागि आवश्यक विधिको जानकारी हुनु आवश्यक रहेको बताए । उनले भने, ‘अनुसन्धान गर्दा हुने विविध जटिलताका बाबजुतपनि काठमाडौ र देशभरी नै सर्ने र नसर्ने रोगको अनुसन्धान गरिरहेको छ।’
कार्यक्रमका सहभागीहरूले तथ्य प्रयोग गर्नका लागि आवश्यक विधिको व्यावहारिक प्रयोग पनि गनुका साथगसाथै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति निर्माणकर्ता र नेपालका अनुसन्धानकर्ताहरूको सहभागिता थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालमा स्वास्थ्य अनुसन्धानको संवद्र्धनका लागि गठित एक सरकारी निकाय हो। परिषद्ले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमलाई आवश्यक पर्ने अनुसन्धान गर्दै आएको छ। यसले गरेका अध्ययनहरूले नेपालको स्वास्थ्य नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
परिषदद्वारा गरिएका नसर्ने रोगहरुका अध्ययनका तथ्यका आधारमा रहेर ती रोगसम्बन्धी नीति तथा कार्य तयार भएका छन् । त्यसैगरी वायु प्रदूषणका विषयमा रहेर गरिएको अध्ययनले जनमानसको स्वास्वथ्य व्यवहारमा परिवर्तन ल्याउन मद्धत गरेको छ।
सरुवा रोग र जल वायू प्रदुषणका विषयमा भएका अध्ययनहरुले राष्ट्रिय जल वायु अनुकुलन नीतिको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। परिषद्ले अनुसन्धानमा आधारित रहेर स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्ने विषयमा विभिन्न अनुसन्धानात्मक कार्यक्रम गर्दै आएको छ।