काठमाडौं– जनस्वास्थ्य विधेयक प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदै संशोधनका लागि संसद सचिवालयमा पुगेको छ । ७२ घन्टामा संशोधनको प्रस्ताव दर्ता गराउन चाहाने सांसदहरुका लागि समय दिँदै उक्त विधेयक प्रतिनिधि सभामा सैद्धान्तिक सहमती प्राप्त गरेर आएको हो । अव उक्त विधेयकमा सांसदहरुले शुक्रवारसम्म संशोधन दर्ता गराउने पाउने छन् । आइतवारको प्रतिनिधि सभा वैठकमा विधेयक पेश भई सहमती पाएमा संशोधन मिलाउन शिक्षा र स्वास्थ्य समितिमा जानेछ।
अवको प्रक्रिया के हुन्छ?
उक्त अध्यादेश सर्वप्रथम संसदमा टेवुल भएको थियो । स्वास्थ्यमन्त्रीले उक्त अध्यादेशसंसदमा टेवल गर्दै सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै संशोधनमा गएको हो।
संसदमा मन्त्रीले विचार गरियोस् भनेर प्रस्ताव पेश गरेपछि सैद्धान्तिक छलफल पुगेको थियो ।
अव संसदले संशोधन प्रस्ताव दर्ता गर्न ७२ घन्टाको समय दिने व्यवस्था छ। संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता हुनेछ। संशोधन दर्ता भएपछि समितिमा पठाउने वा संसदमा छलफल गर्ने विषयमा पुनः छलफल हुन्छ।
विधेयकमा धेरै सांसदहरुले संशोधन दर्ता गरेमा समितिमा पठाउने र कम भएमा सिधै प्रतिनिधिसभामा पेश गर्दै विधेयक पारितको प्रक्रिया सुरु हुने छ।
समितिमा गएमा त्यसमा लामो समय लाग्नेछ। उपसमिति गठनदेखि सहमतिका लागि छलफल र सहमति नभएमा बहुमतले प्रतिवेदन तयार गर्ने काम समितिमा हुन्छ। त्यसपछि समितिले प्रतिवेदन संसदमा पेश गर्नेछ।
समितिको प्रतिवेदनमाथि फेरि संसदमा सांसदहरुले आफ्नो धारणा राख्ने छन्। सांसदहरुको धारणापछि समितिको सभापतिले जवाफ दिने छन्। उक्त प्रक्रिया पूरा भएपछि मन्त्रीले विधेयक पारित गर्नका लागि सदनमा प्रस्ताव पेश गर्ने छन्।
समितिको प्रतिवेदन पेश भएकै दिन वा त्यसको अर्को बैठकमा यस्तो प्रक्रिया अवलम्वन गरिने व्यवस्था हुन्छ। संसदबाट पारित भएपछि उक्त अध्यादेशलाई राष्ट्रियसभामा पठाइने छ। राष्ट्रिय सभामा सांसदहरुले छलफल गरि आफ्नो धारणा राख्ने छन्। उक्त धारणामा शिक्षामन्त्रीले जवाफ दिएपछि दोस्रो बैठकमा विधेयक माथिल्लो सदनबाट पारित हुनेछ। माथिल्लो सदनवाट पारित भएपछि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरिन्छ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यसले ऐनको रुप लिने छ।
प्रतिनिधिसभाका नियमित प्रक्रिया
– समितिमा जादाँ १५ देखि २० वटा प्रक्रिया पार गर्नुपर्ने
– संसदमा टेवल गर्ने
– सैद्धान्तिक छलफल सुरु
– सांसदहरुले छलफलमा भाग लिने
– सम्वन्धित मन्त्रीले जवाफ दिने
– संशोधनको प्रक्रिया सुरु
– संसद सचिवालयमा संशोधन दर्ता गर्न खुल्ला
– ७२ घन्टापछि संसदमा पेश हुने (समितिमा नगएमा)
– समितिमा जाने अवस्था भएमा सम्वन्धित समितिमा पठाउने
– समितिले दफावार छलफल गर्ने र उप–समिति गठन गर्ने
– उप–समितिले प्रतिवेदन समितिमा पेश गर्ने
– समितिले थप छलफल गर्ने
– छलफलपछि प्रतिवेदन पारित गर्ने
– पारित प्रतिवेदन संसदमा पेश गर्ने
– संसदमा सांसदहरुले प्रतिवेदनमा आफ्नो धारणा राख्ने
– सांसदहरुको धारणा लगत्तै मन्त्रीले जवाफ दिने
– मन्त्रीले पारित गर्नका लागि प्रस्ताव पेश गर्ने
– सभामुखले विधेयक पारित गर्नका लागि संसदमा निर्णयार्थ पेश गर्ने