चितवन- नेपाल अबुर्द रोग निवारण संस्था चितवन शाखाले २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सभाको उद्घाटन गरेकी थिइन्।
रोटरी सामुदायिक भवन गणेस्थान भरतपुर ११ मा सम्पन्न सभामा बोल्दै मेयर रेनु दाहालले भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको क्षमता विस्तार गरी प्रतिष्ठान बनाउन आफू सक्रिय रुपमा लागरहेको बताइन्।
'सबै प्रकारका क्यान्सरका बिरामीहरूलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न महानगर समेत क्रियाशिल छ,' उनले भनिन् 'भयावह बनिरहेको क्यान्सरको रोकथाम, निदान र नियन्त्रण गर्न सबै सक्रिय हुनु आवश्यक छ।'
उनले क्यान्सरका सबै प्रकारका बिरामीहरूलाई सर्वसुलभ उपचारको व्यवस्था मिलाउन नगरपरिषदबाट निर्णयसमेत गरी अगाडि बढिरहेको जानकारी दिइन्।
यस्तै अबुर्द रोग निवारण संस्था चितवनले क्यान्सर सम्बन्धी सचेतना, क्यान्सर परीक्षण र उपचारको साथै बिरामी कुरूवा घरसमेत संचालन गरेकोमा मेयर रेनुले प्रशंसा गरेकी थिइन्।
चितवनका प्रजिअ जितेन्द्र बस्नेतले क्यान्सर अस्पताललमा विचौलियालाई पूर्ण प्रतिबन्ध गर्दै सबै जनताले सहज रुपमा उपचार पाउने प्रक्रिया थप सहज बनाउन चितवन प्रशासनले नयाँ रणनिति तयारी गरेको बताए।
संस्थाका अध्यक्ष दिनेश चुकेले बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रममा कोषाध्यक्ष ऋतु गिरीले बार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी थिइन।
रोटरी क्लब चितवनका अध्यक्ष कपिलबाबु खनाल उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मन्तव्य दिएका थिए ।
सो अवसरमा क्यान्सर पीडित कल्पना प्रधानलाई उपचारमा सहयोग पुर्याउन नगद २० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । अबुर्द रोग निवारण सस्थालाई आर्थिक सहयोग गर्ने चन्दादाता बाबुराम अधिकारी लगायतलाई सम्मान गरिएको थियो।