काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्डियोलोजी विभागका प्राध्यापक डा सुनिल चन्द्र झाले जन उपयोगी पुस्तक ‘डाक्टर साहेब भन्नुहुन्छ...’ तयार पारेका छन् । डा झाले सम्पादन तथा प्रकाशन गरेको पुस्तकमा उनका साथै विभिन्न विशेषज्ञ चिकित्सकका ५२ वटा रोग सम्बन्धि जानकारी समेटिएका छन्।
विगत ३० वर्षदेखि चिकित्सा सेवा दिइरहेका डा झा रोग र उपचारका विषयमा धेरै नेपालीहरुको चेतनास्तर बारे जानकार छन् । रोग सम्बन्धि सामान्य जानकारी नपाउँदा धेरै दुःख पाएका धेरै बिरामी भेटेका छन् । यसैगरी एकैदिन दर्जनौं बिरामी हेर्नुपर्दा डाक्टरले धेरै सल्लाह दिन सम्भव नभएको महशुस गरेका छन् । यिनै अनुभवहरुले आफूलाई पुस्तक तयार पार्न उक्साएको डा झा बताउँछन्।
सवै रोग र विशेषज्ञहरुलाई किताबमा समेटिएको छ । यसले धेरै नेपालीहरुलाई हुने स्वास्थ्य समस्या, त्यसको रोकथाम र उपचारका विषयमा जानकारी गराउन सहयोग पुर्याउनेछ । नेपाली भाषामा लेखिएको किताबमा बिरामीले बुझ्नेगरी व्याख्या गरिएको छ । यसका लागि आफूले केही दुःख उठाएको डा झा बताउँछन् । उनी भन्छन्, ‘नेपाली भाषामा प्रायः डा साहेबलाई लेख्न गाह्रो हुन्छ । उहाँहरुले नेपाली, नेपाली र अंग्रजी मिसिएको र अँग्रेजी भाषामा लेखेको जानकारीमूलक लेखलाई मैले सरल भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छु।’
उनका पिता चन्द्रलाला झा कुनै समयको चर्चित पत्रिका ‘नेपाली टाइम्स’का प्रकाश र सम्पादक रहेकाले नेपाली भाषामा डा झाले पनि पकड जमाउन पाए । २०३५ देखि २०३६ सम्म आफैंले विशेष प्रतिनीधिका रुपमा काम गरेको र २०४८ सालपछि ‘डाक्टर साहेब भन्नुहुन्छ’ नामक स्तम्भ चलाएका कारण उनलाई यो पुस्तक सम्पादन र प्रकाशनमा सहज भएको हो।
पुस्तकले कुनैपनि रोगको कारण, लक्षण र उपचार सम्बन्धि जानकारी मात्रै होइन, रोकथामका उपाय समेत सुझाएको छ । आफूलाई भएको समस्या लिएर चिकित्सकोमा पुग्दा त्यसवखत जानकारी पाउन नसकेका विविध कुरा समेत पुस्तकबाट प्राप्त गर्न सकिनेछ।
डा झाले यही शिर्षकमा १० वर्षअघि पनि पुस्तक प्रकाशित गरेका थिए । १० वर्षम रोग, उपचार प्रक्रिया र नयाँ प्रविधिका कारण निदानमा आएका परिवर्तनलाई समेत आत्मसाथ गर्दै विशेषज्ञहरुका जानकारीमूलक लेख उनले यसमा समेट्ने प्रयास गरेका छन् । २ सय ८८ पृष्ठको पुस्तकमा ५२ वटा रोगबारे विस्तृत जानकारी समेटिएको छ । यसको मूल्य रु ४ सय रहेको छ।